
एसईईमा गोरखाको एक विद्यालयको नतिजा शुन्य, खुल्ला विद्यालयतर्फ पनि सबै अनुत्तीर्ण
प्रतीक्षा आले ।
यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका एक विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यो वर्ष सिद्धदेवी मावि आरुचनौटेका शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन् । सो विद्यालयबाट १० जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी थिए ।
यस्तै, यो वर्ष खुल्ला विद्यालयबाट परीक्षा दिएका ७ जना परीक्षार्थीहरु पनि अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाको परीक्षा शाखाका विश्वप्रकास रेग्मीले बताए । उनका अनुसार यस वर्षको एसईईमा गोरखा नगरपालिकाका ७१.८६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । एसईईमा गोनपाभित्रको २६ विद्यालयहरुबाट ९२४ जना विद्यार्थीहरुले सहभागिता जनाएकोमा ६६४ जना उत्तीर्ण भएका छन् ।
यस्तै, २६० जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत (एनजी) भएको रेग्मीको भनाई छ । पालुङटार नगरपालिकाको एसईई नतिजा ६९.०७ प्रतिशत रहेको छ । पालिकाअन्तरगत १७ विद्यालयहरुबाट ५२५ जना परीक्षार्थीहरुले परीक्षा दिएकोमा ३६६ जना उत्तीर्ण भएका हुन् । १५९ जना विद्यार्थीहरुले अवर्गीकृत (एनजी) नतिजा ल्याएका छन् ।
अजिरकोटको एसईई नतिजा ४५.७३ प्रतिशत रहेको छ । पालिकाको ९ वटा विद्यालयहरुबाट १६४ जना परीक्षार्थीहरुले परीक्षा दिएकोमा जम्मा ७५ जना उत्तीर्ण भएका छन् । यस्तै, ८९ विद्यार्थीहरुले अवर्गीकृत (एनजी) नतिजा ल्याएका छन् । जिल्लाको आरुघाट गाउँपालिकाको एसईई नतिजा ३६.६९ प्रतिशत रहेको छ । पालिकाको १४ विद्यालयहरुबाट ३५७ जनाले एसईई दिएकोमा जम्मा १३१ जनाले मात्र एसईई परीक्षा उत्तीर्ण गरेका छन् ।
बाँकी २२६ जना परीक्षार्थीले एनजी ग्रेड प्राप्त गरेका छन् । गण्डकी गाउँपालिकाको एसईई नतिजा ६०.६२ प्रतिशत रहेको छ । पालिकाभित्रका ११ विद्यालयहरुबाट यो वर्ष २५९ जना विद्यार्थीहरुले एसईई दिएका थिए । जसमध्य जम्मा १५७ जना उत्तीर्ण भएका छन् भने बाँकी १०२ जनाले एनजी ग्रेड ल्याएका छन् ।
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाको एसईई नतिजा क्रमश ६६.१८ र ३६.०६ रहेको छ । चुमनुब्रीको दुई विद्यालयबाट ६८ जनाले एसईई दिएकोमा ४५ जना उत्तीर्ण भएका छन् । यस्तै, धार्चेको ९ विद्यालयहरुबाट १९७ जनाले परीक्षा दिएकोमा जम्मा ७३ जना मात्र उत्तीर्ण भएको बताइएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाभित्रका १० विद्यालयहरुबाट २९८ जनाले परीक्षा दिएकोमा १८२ जना उत्तीर्ण भएका छन् भने ११६ जनाले अवर्गीकृत (एनजी) नतिजा ल्याएका छन् । पालिकाको एसईई नतिजा ६१.०७ प्रतिशत रहेको छ । भिमसेनथापाले एसईईमा ६०.१४ प्रतिशत नतिजा ल्याएको छ ।
पालिकाअन्तरगत १२ वटा विद्यालयहरुबाट २९६ जनाले एसईई दिएकोमा १९८ जना उत्तीर्ण भएका हुन् । सहिदलखन गाउँपालिका र सिरानचोक गाउँपालिकाको एसईई नतिजा क्रमश ६३.३२ र ५८.३३ प्रतिशत रहेको छ । सहिदलखन गाउँपालिकाको ११ विद्यालयहरुबाट १९९ जनाले एसईईमा सहभागिता जनाएका थिए । जसमध्य ७३ जना उत्तीर्ण भएका छन् । यस्तै, सिरानचोकबाट २५२ जनाले सहभागिता जनाएकोमा १०५ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।
जिल्लाबाट सहभागीमध्य ६०.५८ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । जम्मा तीनहजार पाँच सय ३९ जनाले परीक्षा दिएकामा दुईहजार एकसय ४४ जना उतीर्ण भएका र एकहजार तीनसय ९५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत (एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाको भनाई छ ।




