| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा धान दिवसको अवसरमा चार जना उत्कृष्ट कृषक सम्मानित

गोरखामा जिल्लामा विविध कार्यक्रम गरी २२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । आइतबार असार १५ को अवसरमा जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा गोरखा नगरपालिका–१० छेवेटारस्थित बर्बरे फाँटमा रोपाइँ कार्यक्रम गरी दिवस मनाइएको छ ।

गोरखा नगरपालिका र कृषि ज्ञान केन्द्रको आयोजना तथा छेवेटार कृषि सहकारीको व्यवस्थापनमा कार्यक्रम भएको हो । दिवसको अवसरमा विभिन्न विधाका चार जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको ज्ञान केन्द्रका कृषि अधिकृत बिवेक पौडेलले बताए ।

सम्मानित हुनेमा गाई पालक कृषकतर्फ जय गोरखकाली गाई फर्मकी राममाया बस्नेत, सुन्तला कृषकतर्फ दिपेन्द्र बुढाथोकी, बाख्रा पालन कृषकतर्फ ज्यादुल एग्रो फरेष्ट्रीका सुदिप भन्तना र भिमसेन थापा गाउँपालिका–१ का एकीकृत कृषि फर्मका भक्तप्रसाद श्रेष्ठ रहेका छन् । जसमध्य पहिलो स्थानमा परेको जय गोरखकाली गाई फर्मलाई प्रदेशस्तर उत्कृष्ट कृषक कार्यक्रमको लागि सिफारिस गरिएको कृषि अधिकृत बिवेक पौडेलले जानकारी दिए ।

साथै कार्यक्रममा महिला र पुरुष दुवैतर्फ हिले दौड, डोरी तान्ने खेल लगायतका प्रतियोगिताहरु सम्पन्न गरिएको उनले बताए । प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समन्वय समितिकी उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपप्रमुख मसलीमाया थोकर, कार्यालयका प्रमुखहरु, जनप्रतिनिधी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

दिवसको अवसरमा पालुङटार, सिरानचोक, गण्डकी लगायतका स्थानीय तहमा पनि रोपाई कार्यक्रम भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्