| बुधबार, असार ९, २०८३

गृहको आदेश कुर्दा कुर्दै तिब्बसँगको बैठक हुन सकेन

उत्तरी गोरखामा आइतबार हुने भनिएको तिब्बतसँगको बैठक स्थगित भएको छ । हरेक वर्ष नाका खुलाउने विषयमा तिब्बततर्फ हुदै आएको द्विदेशीय प्रतिनिधिहरुको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी थियो ।

तर नेपाल सरकारको गृहमन्त्रालयबाट समयमै आदेश नआउँदा निर्धारित मिति गुज्रिएको हो ।

तिब्बती अधिकारीले जिल्लाको चुमनुब्री गाउँपालिका १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका खुलाउने र त्यसपछि आइपर्ने सुरक्षा चुनौतिबारे छलफल गर्न दुवैतर्फ बैठकको प्रस्ताब गरेको थियो ।

जिलोङ काउण्टी पब्लिक सेक्युरिटी ब्यूरोअफ चाइनाले चुमनुब्री गाउँपालिका ७ छेकम्पार प्रहरी चौकी, इलाका प्रहरी कार्यालय आरुघाटमा गत जेठ २६ गते नै बैठक बारे नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । यही असार १५ गते बैठक गर्ने प्रस्ताब गरी २९ गते पत्र पठाएर विधिवत रुपमा प्रस्ताब गरेको थियो ।

प्रहरीले सो पत्रसमेत संलग्न राखी जिल्ला प्रशासन कार्यालय गोरखामा पठायो । प्रशासन कार्यालयले पनि सोही दिन बैठकका लागि आदेश माग गर्दै गृहमन्त्रालयमा पत्राचार गरेको थियो ।

‘यो बीचमा चुमनुब्री ७ का पूर्व वडाअध्यक्ष पासाङ फुञ्जो लामाले तीन पटकसम्म फोन गरी आदेश आउन किन ढिला भएको भनेर चासो राख्नु भएको थियो’, एक अधिकारीले भन्नुभयो, ‘जिल्लाबाट पनि गृहमन्त्रालयमा सोधनी भइरहेको थियो । तर आदेश गत असार १२ गते मात्र आयो । सो पत्र तत्काल तिब्बती अधिकारी समक्ष पु¥याउँदा उताबाट आदेश आउन अर्को १० दिन लाग्ने खबर आएको छ । बैठक कहिले हुने अनिश्चित भयो ।’

रुइला नाका रहेको सामागाउँतर्फ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)ले बैठकको समन्वय गरिरहेको थियो । तिब्बती सुरक्षा निकायले सशस्त्र प्रहरीमा गत असारको सात गते पत्राचार गरेको थियो । तर त्यसको जवाफ गृहमन्त्रालयले गत असार १२ गते मात्र आदेशात्मक जवाफ फर्कायो । यसले गर्दा बैठक हुन नसकेको सशस्त्र प्रहरीको भनाई छ ।

‘हाम्रो भूमिमा दुईपक्षीय बैठक अहिलेसम्म भएको थिएन । यसपटक हुने भनेर हामी धेरै खुशी भएका थियौं’, चुमनुब्री १ का मिङमार लामाले भन्नुभयो, ‘तर जवाफ आउनै ढिला भयो । त्यसैले मिटिङ हुन सकेन । अब कहिले मिटिङ गर्ने, कहिले नाका खुल्ने ।’ छेकम्पारमा यसअघि १० बर्षअघि द्विपक्षीय बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्