
जडिबुटी व्यवसायिक तालिम सम्पन्न
गोरखा नगरपालिका वडा नं– १३ मा जडिबुटी व्यबसायिक तालिम सम्पन्न भएको छ । वडाको आर्थिक वर्ष २०८१/८२को विनियोजित बजेटबाट शुक्रबार शनिबार गरी २ दिने जडिबुटी व्यबसायिक तालिम सम्पन्न गरिएको वडाध्यक्ष मित्रा परियारले बताइन् ।
गतवर्ष जडिबुटी सम्बन्धी तालिम दिएको थियो । यो वर्ष भने उक्त पहिचान गरिएको जडिबुटी व्यवसायिक रुपमा उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले तालिम दिएको वडाध्यक्ष परियारले बताइन् । ‘हाम्रोतिर धेरै थरीका जटिबुटीहरु पाइने रहिछ, यसलाई आयुर्वेदसँग जोडेर व्यबसायिक बनाउने उद्देश्य छ,’ उनले भनिन्, ‘क्षमता वृद्धि भन्दा पनि अर्थसँग मान्छे छिटो आर्कषित हुनेछ गर्छ, पैसा सबैका लागि अवश्यक चिज हो, जडिबुटी व्यवसायिक रुपमा उत्पादन गर्न सकियो भने वडाको आर्थिक अवस्थामा पनि राम्रो प्रभाव पर्छ ।’
वडामा युवा जनशक्ति कम भएकाले महिलालाई सशक्त र जाजरु बनाउन पनि यस तालिममा महिला विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ । वडामा उत्पादन हुने कुरिलो प्रशोधन गरी जिल्ला आयुर्वेद कम्पनी गोरखामा पठाउने गरेको उनले जानकारी दिइन् । ‘हाम्रो वडामा तामाङ समुदायको पनि बहुल्यता छ,’ उनले भनिन्, ‘उहाँहरुले कुरिलो उत्पादन गरेर जिल्ला आयुर्वेद कम्पनीमा पठाउने गर्नुहुन्छ ।’
तालिममा ५४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई सक्रिय रुपमा जडिबुटी उत्पादन गरी व्यवसायिक रुपमा लाग्न समेत वडाध्यक्ष परियारले आग्रह गरिन् । तालिमलाई गोरखा नगरपालिका आयुर्वेद शाखा प्रमुख कविराज जीवन कुमार श्रेष्ठ, डिभिजनल वन कार्यालयका विनोद गायक, गण्डकी प्रदेश अस्पताल गोरखाका आयुर्वेद डा.अविन थापाले प्रशिक्षण गराएका थिए । गोरखा जिल्ला आयुर्वेद कम्पनीका जीवन रेग्मी र सोलुसन हर्बल कम्पनीका ईश्वर सिलवालले भने उत्पादनको मात्र र मुल्यबारे जानकारी गराएका थिए ।




