| आइतवार, कार्तिक २२, २०८३

पालुङटारमा लिची उत्पादन बढ्यो

पालुङटार नगरपालिकामा यो वर्ष लिची उत्पादन बढेको छ । करिव ८ प्रतिशतले उत्पादनमा बृद्धि आएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । वडा नं ६ गाईखुर, वडा नं ७ च्याङ्ली र वडा नं ८ धुँवाकोटबाट मात्र यो बर्ष करिब ११ करोड १५ लाख रुपियाँको लिची उत्पादन भएको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘गत वर्ष १५३ हेक्टर क्षेत्रफलमा एक हजार ५९७ मेट्रिक टन लिची उत्पादन भएको थियो,’ उनले भने, ‘यो बर्ष १५९ हेक्टर क्षेत्रफलमा एक हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको छ ।’

अनुकुल मौसम र बगैँचाको राम्रो व्यवस्थापनका कारण यो वर्ष उत्पादनमा बृद्धि आएको उनले जानकारी दिए । उनका अनुसार पालुङटारको वडा नम्वर ६, ७ र ८ बाट गत वर्ष १० करोड २५ लाखको लिची बिक्री भएकोमा यो वर्ष ११ करोड १५ लाखको लिची उत्पादन भएको छ । किसानहरुले यो वर्ष लिचीबाट ३ लाखदेखि १८ लाखसम्मको आम्दानी गरेको उनले बताए ।

पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीका कमल गुरुङले यो वर्ष लिची बेचेर तीनलाख रुपैँया आम्दानी गरेका छन् । ‘८० बोटबाट तीन लाखको आम्दानी भयो, मैले लिचीको बिरुवा पनि उत्पादन गर्छु । यो वर्ष बिरुवाबाट भने दुई लाख आम्दानी गरे’, उनले भने । हाल गाउँठाउँको बाँझो जमिन लिचीले ढकमक्क भएको गुरुङ बताउँछन् ।

फुल खेल्न थालेदेखि नै व्यापारीहरु बगैँचा ठेक्का लगाउन आउने गरेको उनले जानकारी दिए । उनका अनुसार केही ठेकेदारहरुले पाँच वर्षको लागि सम्झौता गरेर लिची खरिद गर्ने गरेका छन् । उत्पादित लिचीको बजार व्यवस्थापनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्