| मङ्लबार, कार्तिक २४, २०८३

सौरपानीमा सम्पन्न स्वास्थ्य शिविरमा ३४७ जनाले सेवा लिए

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको आर्थिक सहयोगमा सम्पन्न शिविरमा तीन सय ४७ जनाले सेवा लिएका छन् ।

दुई दिने शिविरमा सामान्य स्वास्थ्य परिक्षण, नाक, कान, घाँटी सम्बन्धी रोग, भिडियो एक्सरे सेवा, मुटु रोग, स्त्री रोग, पाठेघरको मुखको क्यान्सर लगायतका स्वास्थ्य समस्याको उपचार गरिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । जसमा एकसय ७४ जनाले मुटु जाँच गराएको उनले जानकारी दिए । यस्तै, एक सय ५९ जनाले इिको सेवा लिएको र ६१ जनाले इसिजी गराएको उनको भनाई छ ।

‘एक सय ५ जनाको युएसजी र ६४ जनाले भिआईए जाँच गराउनु भएको छ’, उनले भने, ‘जसमध्य २ जनामा भिआईए पोजेटिव देखिएको छ ।’ शिविरमा दुईसय १० जना महिला र एकसय ३७ जना पुरुषले सेवा लिएको उनको भनाई छ । शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विजय यादव, स्त्री रोग विशेषज्ञ डाक्टर सुष्मा कुवर, ग्रीन सिटी हस्पिटलको जनरल फिजिसियन डाक्टर मोति कुमार श्रेष्ठ, डाक्टर शिव श्रेष्ठ, डाक्टर प्रबेश गौतम लगायत चिकित्सकको टोलीले सेवा दिएका थिए ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षता एवं पालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा पालिकाकी उपाध्यक्ष सनमाया गुरुङ, मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ, ग्रीन सिटी हस्पिटलबाट आएको विशेषज्ञ डाक्टरहरुको टिम, पालिकाको स्वास्थ्य संयोजक मोदराज भट्ट, जनस्वास्थ्य निरिक्षक कृष्ण भट्ट, सौरपानी स्वास्थ्य चौकीका प्रमुख पशुपति ढुङ्गना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्