
१० महिनामा ११ हजार गोरखालीले देश छाडे
मेलिना बराम ।
गत १० महिनाको अवधिमा ११ हजार जना गोरखाली वैदेशिक रोजगारीका सिलसिलामा देश छाडेका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्त सम्ममा गोरखाबाट वैदेशिक रोजगारीमा जानेको संख्या १० हजार ७९८ पुगेको हो । जसमा महिला एक हजार ४२९ र नौ हजार ३६९ जना पुरुष रहेका छन् ।
यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । सुरक्षित आप्रवासन (सामी)को उपलब्धी, वैदेशिक रोजगारीको अवसर र चुनौती सम्बन्धी छलफल कार्यक्रममा सो बारे जानकारी गराइएको थियो । आप्रवासी स्रोत केन्द्र गोरखाका अनुसार आर्थिक वर्ष २०८१/ ८२ को असार ६ गतेसम्ममा वैदेशिक रोजगारी सम्बन्धमा ९३ वटा उजुरीहरु परेका छन् ।
जसमा ठगी २५, मृत्यु १५, स्वास्थ्य उपचार ३१, जेल २ र सम्पर्क विहिन २० वटा रहेका छन् । उजुरीमध्य २५ वटा समाधान भइसकेको सामी कार्यक्रमका जिल्ला संयोजक चन्द्र देवकोटाले जानकारी दिए । बाँकी ६८ वटा उजुरीको छानविनको प्रक्रियामा रहेको उनले बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले वैदेशिक रोजगारीको सन्दर्भमा प्रस्तुतीकरण गरेका थिए । साथै उनले गण्डकी प्रदेशमा वैदेशिक रोजगारीको अवस्था, सामीद्वारा जिल्लामा सञ्चालित कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमको संक्षिप्त जानकारी गराएका थिए । गोरखाका सात स्थानीय तहमा सामी कार्यक्रम लागु भई सकेको छ ।
चुमनुब्री, धार्चे, गण्डकी र भिमसेनथापा गाउँपालिकामा भने कार्यक्रम लागु हुन बाँकी रहेको सामी कार्यक्रमका जिल्ला संयोजक चन्द्र देवकोटाले जानकारी दिए । गण्डकी र भिमसेनथापा गाउँपालिकामा भने आगमी साउनदेखि कार्यक्रम लागु हुने उनले बताए । सामी कार्यक्रम अन्तरगतको मनोसामजिक परामर्श सेवाबाट हाल सम्म १२ पुरुष र ७९ महिला गरी ९१ जना लाभान्विदत भएका छन् ।
आप्रवासी स्रोत केन्द्र गोरखाबाट पनि विभिन्न ९ हजार १९४ जनाले सेवा लिएको जिल्ला संयोजक देवकोटाले बताए । सूचनामा पहुँच, न्यायमा पहुँच कानुनी सहजीकरण, सिपयुक्त जनशक्तिको विकास, मनोसामजिक परामर्श, वित्तीय साक्षरता सामी कार्यक्रमका मुख्य सेवाहरु हुन् ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत एकदेव खनाल, सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायलगायतको उपस्तिथि रहेको थियो ।




