| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकमा मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको बजेट अनियमितरुपमा खर्च

प्रतिक्षा आले ।
जिल्लाको सिरानचोक गाउँपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमअन्तरगतको बजेट अनियमित रुपमा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार सिरानचोकले आथिक वर्ष २०८०/८१ मा मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमअन्तरगत ९ लाख ५३ हजार रुपैँया अनियमित रुपमा खर्च गरेको हो ।

पालिकाले ८०/८१ मा मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमअन्तरगत संचालन भएको माटोको भाडा बनाउने तालिम र बाँसको सामाग्री बनाउने तालिमका प्रशिक्षकहरुले बढी सुविधा दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सिरानचोकले वडा नं ४ मा संचालन भएको ४५ दिने माटोको भाडा बनाउने तालिमको प्रशिक्षकलाई ३६ हजार ६०० रुपैँया बढी भुक्तानी गरेको छ ।

यसैगरी, पालिकाले वडा नं ६ मा ४५ दिनसम्म संचालन भएको ४५ दिने बासको सामाग्री बनाउने तालिमको प्रशिक्षकलाई १५ हजार रुपैँया बढी भुक्तानी गरेको पाइएको हो । सो रकम मापदण्ड अनुकुल नहुने र दोहोर भुक्तानी समेत हुने देखिँदा बढी भुक्तानी भएको रु ५२ हजार ६०० प्रशिक्षकहरुबाट असुल गर्न महालेखाले सुझाएको छ ।

माटोको भाडा बनाउने तालिममा पालिकाले अत्याधिक रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गत आवमा मुख्यमन्त्रीको कार्यालय र पालिका बीच भएको सम्झौता अनुसार माटोको भाँडा बनाउने तालिम संचालनका लागि सामाग्री खरिदमा रु ५ लाख बिनियोजन भएको थियो । तर, पालिकाले सामाग्री खरिदमा मात्र ९ लाख ९७ हजार ७९० रुपैँया खर्च लेखी भुक्तानी गरेको महालेखाले औल्याएको छ ।

बजेटभन्दा बढी लेखेको खर्चलाई नियमसम्मत भन्न नमिल्ने भन्दै महालेखाले बढी लेखेको रु ४ लाख ९७ हजार ७९० रुपैँयालाई अनियमित भएको ठहर गरेको छ । पालिकाले माटोको भाँडा बनाउने तालिम र बाँसको सामाग्री बनाउने तालिममा अवलोकन भ्रमण शीर्षकमा पनि ४ लाख २ हजार ६१९ रुपैँया अनियमित रुपमा खर्च गरेको छ । माटोको भाडा बनाउने तालिमका ४० जना सहभागीहरुलाई अवलोकन भ्रमण गराएको भन्दै पालिकाले रु दुईलाख २१ हजार ३१५ रुपैँया खर्च लेखाएको छ ।

यस्तै, बाँसको सामान बनाउने तालिमका ३० जना सहभागीहरुलाई अवलोकन भ्रमण गराएको भन्दै एकलाख ८१ हजार ३०४ रुपैँया खर्च लेखाई भुक्तानी गरेको उल्लेख छ । यसरी तालिम कार्यक्रममा अवलोकन भ्रमण भन्दै खर्च लेख्ने प्रावधान नरहेको महालेखाले जनाएको छ । सिरानचोकले तालिम कार्यक्रमको अवलोकन भ्रमण भन्दै खर्च गरेको रु चारलाख २ हजार ६१९ लाई महालेखाले अनियमित भनेको छ ।

प्रतिक्रिया दिनुहोस्