| आइतवार, कार्तिक २२, २०८३

छेकम्पारका बासिन्दा यार्सागुम्बाको मेलो सकेर वनलसुनतिर

जडिबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बा संकलनको मेलो सकेर यतिबेला वनलसुन संकलन गर्नतिर लागेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा पाइने लेकबाट वनलसुन पाइने तल्लो भेगतिर लागेका वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।

‘हाम्रोतिर त यार्सागुम्बाको सिजन सकियो । अहिले सप्पैजना वनलसुन खोज्दैछन्’, उनले भने, ‘किरा टिप्न छेक्या, बाज्यो, फुच्युन, छोस्योङको लेकमा गएका थिए । अहिले उनीहरु त्यही लेकको तल्लो भेग किपु, रोल्मीखर्क, बाज्योखर्क, छेस्योङबेशीतिर वन लसुन खोज्दैछन् ।’ यार्सागुम्बा र वनलसुन बेचेर गरेको आम्दानीले बर्षदिनको घरखर्च धान्नु पर्ने उनको भनाइ छ ।

उनका अनुसार यसबर्ष यार्सागुम्बा अपेक्षा गरेअनुसार संकलन भएको छ । तर भाउ भने दुई तिहाइ घटेको छ । ‘अहिले यार्सागुम्बा राम्रै पायो तर भाउ पाएन’, वडाअध्यक्ष लामाले भने, ‘पोहोर साल किरा पनि राम्रो पायो, भाउ पनि राम्रो पाएको थियो । पोहोर साल ठूलोखाले एउटाको एक हजारमा अनि सानो खाले एउटाको पाँचसयमा बेचेको हो । तर अहिले ठूलोखालेको चारसय, सानाखालेको तीनसयमा बेच्नु पर्ने भएको छ ।’

यार्सागुम्बा भने गतबर्ष र यसबर्ष उत्तिकै भेटिएको उनले बताए । ‘पोहोरसाल सानो ठूलो गरेर ३६ किलो बेचेको हो । हाम्रोतिर एकजनाले सानो ठूलो गरेर कम्तिमा दुईसयदेखि एकहजार वटासम्म संकलन गर्छन्’, उनले भने, ‘यसपालि पनि किरा त त्यस्तै पाइएको छ । तर भाउ नपाएर दुख त्यस्सै खेर जाने भयो भनेर गाउँलेहरु निराश भएका छन् ।’

चुमनुब्री १ सामागाउँ, साम्दोको लेकमा र वडा नं. ७ छेकम्पारको लेकमा उच्च गुणस्तरीय यार्सागुम्बा पाइन्छ । त्यसभन्दा तल ल्हो, प्रोक, सिर्दिबास, उहियाको लेकमा पनि धेरथोर पाइने स्थानीयबासी बताउँछन् । वनलसुन भने सबै वडाको खर्क, चरन तथा पाखा पखेरामा पाइने उनीहरु बताउँछन् । प्रतिकेजी ३८ हजार रुपैयाँमा किनबेच हुने वनलसुन पनि गाउँमा हरेकले दुई, तीन केजीका दरले संकलन गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्