| आइतवार, कार्तिक २२, २०८३

पालिकाहरुको खाना, खाजामै धेरै खर्च

प्रतिक्षा आले :

गोरखाका गाउँ तथा नगरपालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा खाना तथा खाजा खर्चमा अत्याधिक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा जारी ६२ औं प्रतिवेदनमा जिल्लाका ६ पालिकाको खाना र खाजा खर्चमा अत्याधिक खर्च भएको देखिएको हो ।

जिल्लाका बारपाक सुलिकोट, सिरानचोक, भीमसेनथापा, आरुघाट, गण्डकी गाउँपालिका र पालुङ्टार नरपालिकाले खाना र खाजामा असामान्य खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

बारपाक सुलिकोट गाउँपालिकाले गतबर्ष गरेको महालेखा परीक्षणका क्रममा बारपाक सुलिकोट गाउँपालिकाले खाना खाजामा २३ लाख रुपैयाँ खर्च गरेको उल्लेख छ । खाना, खाजा र अन्य शीर्षक उल्लेख गरी पालिकाले सो रकम खर्च गरेको हो । ‘अन्य’ भनेर अज्ञात शीर्षकमा ठूलो रकम खर्च गरेको भन्दै प्रतिवेदनले सो प्रस्ट पार्नुपर्ने पनि सुझाव दिएको छ ।

त्यस्तै सिरानचोक गाउँपालिकाको खाना, खाजा खर्चको रकम पनि अत्याधिक देखिएको छ । सो पालिकाले खाजा, खाजा र अन्य शीर्षकमा २० लाख ७० हजार खर्च गरेको प्रतिवेदनमा भनिएको छ । जसमध्य खाना र खाजामा मात्र १८ लाख ८६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

त्यस्तै भीमसेनथापा गाउँपालिकाले पनि खाना र खाजा शीर्षकमा खर्च गरेको रकम धेरै देखिएको छ । सो पालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा १९ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ । एक बर्षभरिमा यत्तिका धेरै रकम खाना र खाजामा खर्च गर्नु उचित नभएको महालेखाले औंल्याएको छ । बिल, भरपाई मिलेकाले बेरुजू देखाउन नमिले पनि खर्चमा मितव्ययी हुन महालेखाले सुझाव दिएको छ ।

त्यस्तै आरुघाट गाउँपालिकाले पनि खाना र खाजामा ठूलो रकम खर्च गरेको छ । सो पालिकाले १५ लाख ९७ हजार रुपैयाँ खाना र खाजामा खर्च गरेको उल्लेख छ । त्यस्तै गण्डकी गाउँपालिकाले पनि खाना र खाजामा मात्र १४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । एकबर्षको अवधिमा यत्तिका रकम खाना, खाजामा मात्र खर्च गर्नु अत्याधिक भएको महालेखाको ठहर छ ।
पालुङटार नगरपालिकाले पनि खाना र खाजामा असामान्य रकम खर्च गरेको महालेखाको ठहर छ । सो पालिकाले खाना र खाजामा मात्र १३ लाख रुपैयाँ खर्च गरेको छ । नगरबासीको विकासका लागि आएको बजेट फजुल खर्च नगरी सरकारको ढुकुटीको उचित परिचालन गर्नुपर्ने महालेखाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्