| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा र स्याङ्जा, पाल्पा तथा बुटबलका पत्रकार बीच असल अभ्यास साँटासाँट

गोरखामा क्रियाशील पत्रकार र गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरु बीच असल अभ्यास साँटासाँट कार्यक्रमहरु भएका छन् ।

असल अभ्यास साँटासाँट कार्यक्रमका सिलसिलामा बुधबार र बिहिबार स्याङ्जा, पाल्पा र बुटबल पुगेका गोरखाका पत्रकार र त्यहाँका पत्रकारहरु बीच अन्तरक्रियाहरु भएका हुन् ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालको नेतृत्वमा ती जिल्लाहरुमा पुगेर गरिएको छलफल कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, प्रशासकीय अधिकृत विजयभक्त तिवारी, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा तथा क्रियाशील पत्रकारहरु सहभागी थिए । साथै सम्बन्धित जिल्लाका पत्रकार महासंघका नेतृत्व तथा पदाधिकारीहरु तथा त्यहाँका स्थानीय सरकारका प्रमुखहरु सहभागी थिए ।

असल अभ्यासका सिलसिलामा गोरखाका अध्यक्ष ढकालले गोरखा नगरपालिकाले देशमै पहिलो पटक गोरखा नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन दिएको, स्थानीय एफएमहरुलाई विद्युत महशुलवापतको रकम दिने गरेको असल अभ्यास सुनाएका थिए । साथै ती जिल्लाहरुलाई गोरखा भ्रमण बर्षको अवसरमा गोरखा भ्रमण गर्न आउन निमन्त्रणा गरेका थिए ।

गोरखा नगरपालिकाका मेयर राना मगरले पनि सञ्चार माध्यम लोकतन्त्रका लागि अपरिहार्य तत्व भएकाले यसको संवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व भएकाले आफू मिडिया क्षेत्रलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाएका थिए ।
अन्य जिल्लाका पत्रकार महासंघका नेतृत्वले पनि विभिन्न जिल्लाका मिडियाहरुमा भएका असल अभ्यासको अध्ययन भ्रमण कार्य उदाहरणीय भएको भन्दै गोरखाका पत्रकारहरुले अपनाएको अभ्यास अनुकरणीय भएकाले आउँदा बर्षदेखि आफूहरुले पनि अपनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्