
सुरु भयो ट्राफिक सप्ताह
सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, गोरखा नगरपालिका र जिल्ला प्रहरी कार्यालय गोरखाको सहकार्य एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा आइतवारबाट सप्ताह सुरु भएको हो ।
पहिलो दिन जिल्लाका सरोकारवालाबीच छलफल भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला ट्राफिक इन्चार्ज राजेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले धारणा राखेका थिए ।
३१ गतेसम्म संचालन हुने सप्ताहमा विविध कार्यक्रम हुने ट्राफिक हवल्दार डिल्लीराम भट्टले बताए । सवारी साधनमा ट्राफिक सचेतना सम्बन्धी स्टिकर टाँस, चालक, यात्रु र सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, बिद्यालयमा ट्राफिक नियम सम्बन्धी कक्षा संचालन, सुरक्षा निकायका कर्मचारीलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, सडक नाटक लगायतका कार्यक्रम संचालन हुने उनले जानकारी दिए । सवारी साधनको मेकानिजम चेकजाँच र रक्तदान कार्यक्रम समेत हुने उनको भनाइ छ ।




