| आइतवार, कार्तिक २२, २०८३

गोरखामा श्रृङ्खलावद्ध सहकारी चोरी

गोरखामा सहकारी चोरीको घटना बढिरहेको छ । यसअघि चोरी भएका तीनवटा सहकारीको घटनाको अनुसन्धान भइनसक्दै फेरि अर्को सहकारी चोरीको घटना थपिएको हो ।

गत शुक्रबार राती गोरखा नगरपालिका ८ आहालेस्थित रानीस्वाँरा बचत तथा ऋण सहकारी संस्थाको रकम चोरी भएको छ । रातको समयमा सहकारी तोडफोड गरी ढुकुटीमा रहेको तीनलाख ९१ हजार पाँचसय रुपैयाँ चोरी भएको सहकारी संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिए ।

संस्थाको कार्यालयको ढोका फुटाएर रकम चोरी भएको उनले बताए । ‘भोलिपल्ट(शुक्रबार) बिहान कार्यालय खोलेपछि पो पैसा चोरी भएको थाहा भयो’, उनले भने, ‘सहकारीको अफिसको तिनटा ढोका फुटाएर चोरेको रहेछ । पहिले पछाडिको ढोका फुटाएछ । अनि त्यसभित्र पनि एउटा काठको, अर्को फलामको ढोका थियो । सबै ढोका फुटाएर सेफ बाहिर निकालेर फुटाएर पैसा चोरेको रहेछ ।’ यतिधेरै तोडफोड गर्न सक्ने प्रोफेशनल चोर हुन सक्ने उनको तर्क छ ।

शुक्रबार संस्थाले प्रहरीलाई खबर गरेको छ । घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार गरिसकेको छ । ‘जाहेरी दरखास्त दिनुस्, हामी सकेसम्म छिटो घटनाको अनुसन्धान गरी चोर पत्ता लगाउँछौँ भन्नु भएको छ’, अध्यक्ष श्रेष्ठले भने ।
३५२ जना सेयर सदस्य र दैनिक बचतकर्ता गरी पाँचसय जना सदस्य रहेका सो सहकारीमा वैंकिङ कारोबार, रेमिट्यान्स कारोबार र दैनिक बचत पनि हुनेगर्छ ।

यसअघि गोरखामा तीनवटा सहकारी चोरी भइसकेका छन् । कुनै घटनाका अभियुक्त पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । २०७८ साल असार २६ गते भीमसेनथापा गाउँपालिका ७ स्थित भीमकुल सहकारीबाट ३० लाख रुपैयाँ चोरी भएको थियो ।

त्यस्तै २०७७ साल पुस २२ गते पालुङटार नगरपालिका ९ बिर्दीस्थित मिरकोट सहकारीबाट पाँचलाख १८ हजार रुपैयाँ चोरी भएको थियो । त्यसैगरी गत वैशाख १४ गते बारपाक सुलिकोट गाउँपालिका ५ थालेस्थित पिपलबोट सहकारीबाट दुईलाख १५ हजार चोरी भएको थियो । यी कुनै पनि सहकारी चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्