
गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन
नेपाल सरकार अन्तरगतको सहरी विकास मन्त्रालयबाट गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०८२/८३ का लागि सो रकम बिनियोजन गरिएको हो । सहरी विकास मन्त्रालयले गोरखा सदरमुकामस्थित प्राविधिक शिक्षालयबाट गैरीपिपलसम्मको सडक स्तरोन्नतिका लागि तीन करोड रुपैँया बिनियोजन गरेको छ । गोरखा उद्योग वाणिज्य संघको कार्यालयबाट पोखराथोक हुँदै गोरखा दरबार जानेबाटो स्तरोन्नतिका लागि रु तीन करोड रुपैँया बिनियोजन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
गोरखा नगरपालिका वडा नं ५ स्थित गोरक्षश्वर धाम सिद्धाश्रम केन्द्र भवन निर्माणका लागि तीन करोड रुपैँया बिनियोजन भएको छ भने गोरखा क्याम्पस, थर्पु, बेलडाँडा, बेलटारी सडक स्तरोन्नतिका रु तीन करोड बिनियोजन भएको छ विवरणमा उल्लेख छ ।
उत्तरी गोरखा स्थित चुमनुब्री गाउँपालिका वडा नं २ मा रहेको नमोबुद्ध बौद्ध ध्यान तथा शिक्षा केन्द्रका लागी रु तीन करोड बिनियोजन भएको छ । आरुघाट गाउँपालिका वडा नं ७, ८ र ९ मा पर्ने स्तुलखोला, महादेवस्थान, इजारा घ्याप्रिङथोक सडक कालोपत्रेका लागि रु तीन करोड बिनियोजन भएको छ । यस्तै, बेनिगाउँ, खड्गनारायण श्रेष्ठको घरबाट रामपुर, सानो दर्बुङ हुँदै गोरखा जोड्ने सडक निर्माणका लागि रु तीन करोड बिनियोजन भएको छ ।

सहिदलखन गाउँपालिका ९ मा पर्ने बरचुलीथान, बदेली डाँडा हुँदै बुङ्कोट घाट जाने सडकका रु तीन करोड बिनियोजन भएको उल्लेख छ । गण्डकी गाउँपालिका वडा नं ६ स्थित फिस्लिङदेखि भैरवी सडकका लागि रु तीन करोड र गण्डकी गाउँपालिका वडा नं ७ मा पर्ने धवादीघाट मोटररेबल पक्की पुल निर्माणका लागि तीन करोड रुपैँया बिनियोजन भएको छ ।
गैरीचौतारा हटिया मैलुङ जलाशय सडक कालोपत्रेका लागि रु तीन करोड बिनियोजन भएको छ । यस्तै, भिमसेनथापा गाउँपालिकास्थित दमाई चौतारा, भन्तनागाउँ, नारायणपुर, अमला भञ्ज्याङ, आरुघाट जोड्ने सडकका लागि रु तीन करोड बिनियोजन भएको छ ।
ज्यामिरस्वाँरा राईनास कुरिनघाट, कुरिनटार सडक कालोपत्रेका लागि रु तीन करोड बिनियोजन भएको छ भने मुना प्रावि, ताराखसे ओख्ले पँधेरा कैजाले, तिलारे अर्चले सडक कालोपत्रेका लागि तीन करोड रुपैँया बिनियोजन भएको छ । यस्तै, स्याउली बजार, भट्टफाँट, मनकामना, करनटार सडक कालोपत्रेका लागि रु तीन करोड बिनियोजन भएको छ । केवारपानी, स्वाँरागाउँ, नेबोट देउराली हुँदै ठाँटीलापु धार्चे सडक कालोपत्रेका लागि रु एक करोड बिनियोजन भएको शहरी विकास मन्त्रालयको विवरणमा उल्लेख छ । प्रभात मावि, नारायण थलाका लागि रु तीन करोड बिनियोजन भएको बताइएको छ ।
भिमसेनथापा गाउँपालिका अन्तरगत झिंगटे, अश्राङ, बोर्लाङ ठाँटी ऐरीभन्ज्याङ्ग हुदै महादेवटारसम्मको सडक कालोपत्रेका लागि रु तीन करोड बिनियोजन भएको छ भने उत्तरी गोरखास्थित सामागाउँको क्योङोमा झोलुङ्गे पुल निर्माणका लागि रु दुई करोड बिनियोजन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं ३ मा पर्ने भर्जम लिमी झोलुङे पुल निर्माणका लागि रु तीन करोड बिनियोजन भएको छ । चुमनुब्रीकै सिंरिजा बिही झोलुङे पुल निर्माणका लागि रु ५० लाख र फिलिम हुंगे आर्बाङ बुढीगण्डकीमा सडक पुल निर्माणका लागि रु ५० लाख बिनियोजन भएको हो ।
गोरखाको सहिदलखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने कुरिनटार केवलकार झोलुङ्गे पुल निर्माणका लागि रु १० लाख बिनियोजन भएको छ । यस्तै, धवादिघाट चरौदी झोलुङ्गे पुल निर्माणका लागि १० लाख, हिक्लुङघाट झोलुङ्गे पुलका लागि १० लाख र धारापानी झोलुङ्गे पुल निर्माणका लागि १० लाख रुपैँया बिनियोजन भएको छ । यसैगरी, गण्डकी गाउँपालिकास्थित सिउरेनीटार, ज्ञानमार्ग, सिमलटार, चुर्लिङटार, चुर्लिङ्ग, सडक कालोपत्रेका लागि रु ७० लाख रुपैँया बिनियोजन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।




