
सदरमुकामबाट पालिका केन्द्र पुग्न तीनदिन पैदल हिँड्नु पर्ने
प्रतिक्षा आले
उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिकाका बासिन्दा गाउँकार्यपालिकाको कार्यालय पुग्न तीनदिन हिँड्न बाध्य छन् ।बर्षातपछिको पहिरोले ठाउँठाउँमा बाटो बिग्रिँदा सदरमुकामबाट पालिकाको केन्द्र फिलिम पुग्न लामो समय लाग्ने गरेको गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।
उनका अनुसार हरेक वर्ष बर्खाको चार महिना पालिकामा सवारी साधनको आवगमन ठप्पै हुने गर्दछ । ‘बर्खाको चार महिना त पैदल हिँड्ने बाहेक अरु कुनै विकल्प छैन’, उनले भनिन्, ‘फेरि हिँड्न पनि कहाँ सजिलो छ र, ठाउँ ठाउँमा ढुङ्गा खस्ने, पहिरो जाने समस्या छ । ज्यानै जोखिममा राखेर हिँडनुपर्छ ।’ वर्खा याममा मान्छे मात्र नभएर खाद्यान्न ढुवानी गर्ने खच्चड हिँडडुल गर्न पनि चुनौतीपूर्ण रहेको उनी बताउँछिन् ।
यातायातको सुविधा नहुँदा पालिकाबासी अतिआवश्यक सेवा सुविधाहरुबाट बन्चित भएका गुरुङको गुनासो छ । ‘सबैभन्दा ठूलो समस्या तमान्छे बिरामी पर्दा, घाइते हुँदा हुन्छ । सक्नेले हेली बोलाउँछन् । त्यो पनि भनेको बेलामा आइपुग्दैन । हेली आइपुग्दासम्म बिरामी नै नरहने अवस्था छ’, उनले भनिन् ।
चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिमका वडाअध्यक्ष रामकुमार गुरुङले हरेकबर्ष बर्खाको समयमा चुमनुब्रीका बासिन्दाले सास्ती भोग्नु परेको बताएका छन् । ‘बर्खाको चार, पाँच महिना गाडी गुड्दैन । त्यो समयमा स्वास्थ्य, यातायात र खाद्य समस्याले समग्र पालिकालाई पिरोल्छ’, उनले भने, ‘सदरमुकामबाट यही पालिकाकोकेन्द्र फिलिमसम्म आइपुग्न तीनदिन हिँड्नुपर्ने बाध्यता छ भने माथिल्लो भेगको अवस्था झनै के होला ?’ सरकारले छिटोभन्दा छिटो पालिकामा बाह्रैमास यातायात संचालन हुने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
बर्षाको समयमा उत्तरी गोरखा जोड्ने आरुघाटको सोतीदेखि नै यातायात संचालन हुँदैन । जसकाकारण उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाहरुले सास्ती खेप्नु परेको छ ।
चुमनुब्रीको केन्द्र फिलिमबाट सोती बजार पुग्न दुईदिन पैदल हिँड्नुपर्छ । ‘यहाँबाट धार्चेको केन्द्र माछीखोला एकदिनमा पुगिन्छ । माछीखोलाबाट अर्को एकदिन हिँडेपछि बल्ल सोती आइपुग्छ’, लामो समयदेखि चुमनुब्री गाउँपालिकामा सेवा गरेका कर्मचारी बेदप्रकाश ढकालले भने, ‘सोतीबाट बल्ल सदरमुकामको लागि गाडी पाइन्छ ।’ फिलिमबाट सोतीसम्मको पैदल यात्रा पनि निकै जोखिमपूर्ण रहेको उनले बताएका छन् ।
चुमनुब्रीकी उपाध्यक्ष लक्ष्मी गुरुङले बर्षामा यातायातको समस्याले समग्र पालिकालाई पिरोलेको बताएकी छिन् । उनी भन्छिन्, ‘हामी विकास निर्माणका ठूला कुरा गर्छौँ तर, यहाँ बाह्रै महिना चल्ने आधारभूत स्तरको सडक पनि छैन । अलिअलि पानी पर्न थालेपछि भोटखोलाबासीको जनजीवन नै प्रभावित हुने गरेको छ ।’
नेपाली सेनाले चुमनुब्रीको पेवागाउँसम्म सडकको ट्रयाक खनेको छ । उत्तरी गोरखाको लाइफलाइन भनेर चिनिने बेनीघाट आरुघाट लार्के सडक अन्तरगत हालसम्म चुमनुब्री गाउँपालिका–३ पेवासम्म सडक ट्रयाक खनिएको छ । सेनाले पाङसिङ भीर, न्याक फेदी, रुबिनाला र पेवाभीर गरी चार खण्डमा ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम गरिरहेको छ । सडकको ट्रयाक खनेपनि बीचबीचमा ब्लास्टिङको काम संचालन भइरहेकाले यातायात आवतजावतमा समस्या भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । हिमाल पारिको चुमनुब्री गाउँपालिकामा बाह्रैमास गाडी चल्ने सडक छिटोभन्दा छिटो निर्माण गरिदिनुपर्ने सरकारसंग उनको माग छ ।




