
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : तीन ऐतिहासिक स्थललाई विश्वसम्पदा सूचीमा राख्न प्रस्ताब गर्ने
गण्डकी प्रदेश सरकारले गोरखा दरबार, मनकामना मन्दिर र लिगलिगकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल चाल्ने भएको छ । बुधबार प्रस्तुत नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले यी तीन ठाउँलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गर्ने घोषणा गरेको हो ।
साथै प्रदेश सरकारले जापान सरकारको सहयोगमा गोरखामा ‘साना किसान बागवानी सशक्तिकरण परियोजना’ (एस.एच.इ.पी.गण्डकी परियोजना) संचालन गर्ने घोषणा गरेको छ । मनासलु क्षेत्रको पर्यटनलाई व्यवस्थित बनाउन प्रदेश सरकारले पदमार्ग स्तरोन्नति तथा वैकल्पिक पदमार्गको पहिचान तथा विकास गर्ने कार्यक्रमलाई पनि यसबर्ष अघि बढाउने भएको छ ।
घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनका लागि ऐन जारी गरी कार्यान्वयनमा ल्याउने पनि घोषणा गरेको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा गाँजा खेती गर्न कानुन निर्माण गर्ने । गोरखाको हिमाली भेगमा विद्यालय संचालन गर्न विशेष व्यवस्था मिलाइने पनि घोषणा भएको छ । मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिन कानुनी प्रबन्ध मिलाइने भएको छ ।
सडक सञ्जाल नपुगेको चुमनुब्री गाउँपालिकामा सडक निर्माण कार्यलाई निरन्तरता दिइने छ । गोरखाको रुइला पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।
बुढीगण्डकी क्षेत्रमा आधुनिक सेवा सुविधा सहितको सहरी क्षेत्र, सुरक्षित बस्ती विकास तथा आर्थिक केन्द्रका रुपमा विकास गर्न आवश्यक तयारी गर्ने नीति तथा कार्यक्रम गण्डकी प्रदेश सरकारले समेटेको छ ।




