| मङ्लबार, कार्तिक २४, २०८३

राजतन्त्र फर्कन्छ भन्नु दिवास्वप्न हो : उपमहासचिव ज्ञावली

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले राजतन्त्र फर्कन्छ भन्नु दिवास्वप्न मात्र रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) जिल्ला कमिटी गोरखाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘राजतन्त्र फर्किएला, गणतन्त्र उल्टिएला भनेर कल्पना नगरे हुन्छ । आज पत्रकारलाई जिउँदै जलाउन सक्नेहरु, सरकारी कार्यालयमा आगो लगाउन सक्नेहरु, दिउँसै डिपार्टमेन्टल स्टोर लुट्न सक्नेहरु, साँचै उनीहरुको दिन आउने हो भने के हालत होला ?’, उनले भने, ‘यो असम्भव, अप्राकृतिक, अलोकतान्त्रिक र विल्कुल व्यर्थको प्रयास हो । यो व्यर्थको प्रयासमा नलाग्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु । इतिहासको यो गतिलाई कसैले फर्काउन सक्दैन् ।’ राजावादीहरुले गणतन्त्र, लोकतन्त्रको उदारतालाई यसको कमजोरी भन्न नपाउने उनी बताउँछन् ।

उनी भन्छन्, ‘फरक यति हो तपाईहरुको शासनमा हामीले गणतन्त्र माग्दा गोली उपहार पाउँथ्यौँ । अहिले तपाईँहरुले संसदको रोष्टममा उभिएर बोल्न पाउनुभएको छ ।’ अहिलेको सरकार भारत र चिनको बिरोधी वा समर्थक नभई नेपाल र नेपालीहरुको विकासको समर्थक रहेको उनको भनाइ छ ।

नेकपा एमालेले सोमबारबाट गोरखामा तीनदिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता एवं पार्टीका केन्द्रिय उप–महासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजना भएको प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमालेका गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत, नेकपा एमालेकी केन्द्रीय सदस्य सम्झना देवकोटा, राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्