
पृथ्वीनारायण शाहको मूर्ति बनाउने एड्भान्स तालिम सम्पन्न
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको मूर्ति बनाउने एड्भान्स तालिम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा यही जेठ ९ गतेबाट संचालन भएको तालिम आइतबार सम्पन्न भएको हो ।
एक हप्तासम्म संचालन भएको तालिममा माटोबाट पृथ्वी नारायण शाहको मूर्ति बनाउन र फ्रेमिङ गर्न सिकाइएको थियो । पृथ्वीनारायण शाह जिल्लाको चिनारी भएकाले शाहको मूर्ति बिक्री वितरण गरेर पर्यटनहरु आकर्षण गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको महिला उद्यमी संघ नेपाल गोरखाकी सचिव सिर्जना पाण्डेले बताइन् । पाण्डेका अनुसार संघले यसअघि पृथ्वीनारायण शाहको मूर्ति बनाउने आधारभूत तालिम संचालन गरिसकेको छ । तालिममा आयआर्जनमा सहभागी हुने इच्छाशक्ति भएका २० जना महिलाहरुलाईसहभागी गराइएको उनको भनाई छ ।
महिला उद्यमी संघ नेपाल गोरखाकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा आइतबार एक कार्यक्रमकाबीच तालिम सम्पन्न भएको हो ।




