
गोरखाका महिलाको आर्थिक क्रियाकलाप न्युन
अनुपमा खनाल :
आर्थिक क्रियाकलापमा गोरखाका महिलाको कम सहभागिता रहेको पाइएको छ । प्रथम राष्टिूय आर्थिक गणना २०७५ को प्रारम्भिक तथ्यांक अनुसार पुरुषको तुलनामा ब्यापारिक प्रतिष्ठानमा संलग्न महिलाको संख्या कम छ ।
गत भदौ २८ गते सार्वजनिक प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा १० हजार नौसय ८० ब्यापारिक प्रतिष्ठान छन् ।
ती प्रतिष्ठानमा ३१ हजार ६ सय ४४ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये १६ हजार नौसय १३ पुरुष र १४ हजार ७ सय ३१ महिला छन् । ब्यापारिक प्रतिष्ठानमा पुरुषको तुलनामा दुईहजार एकसय ८२ जना महिला कम रहेका जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए ।
‘प्रारम्भिक नतिजा अनुसार जिल्लामा प्रति वर्गकिलोमीटर तीनवटा आर्थिक प्रतिष्ठान छन्’ उनले भने ‘जिल्लामा चटपटेदेखि उद्योगसम्म को विवरण संकलन गरिएको थियो । औसतमा एक आर्थिक प्रतिष्ठान मा करीब ३ जनाले काम गरेको पाईयो ।’ आर्थिक गणनामा साना चटपट ब्यबसायदेखि ठुला उद्योगसम्मका विवरणलाई समावेश गरेर बैशाख एकगतेदेखि जेठ ३१ गतेसम्म ३८ गणक र ५ सुपरीवेक्षकले तथ्याङ्क संकलन गरेका थिए ।
जसअन्तरगत ढुंगा, बालुवा तथा खनिज पदार्थको उत्खनन क्रिया कलाप गर्ने ब्यवसायी, विभिन्न वस्तु उत्पादन गर्ने लघु, घरेलु साना ठुला सवै खालका उद्योग, होटल लज ब्यवसाय, निर्माण ब्यवसाय, संस्थागत यातायात सेवा संचालन गर्ने ब्यवसाय, सुचना तथा सञ्चार सम्वन्धी क्रियाकलाप गर्ने ब्यवसाय, वस्तुको थोक तथा खुद्रा विक्री गर्ने ब्यापार ब्यवसायहरु, वैंक वित्तीय संस्थाहरु, घर जग्गा कारोवार गर्ने ब्यवसायहरुको विवरण संकलन गरिएको थियो ।
अहिले विस्तृत प्रतिबेदनका लागी तथ्यांक अद्याबधिक भैरहेको उनको भनाई छ । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो । यसको विस्तृत प्रतिवेदन सार्वजनिक भैसकेपछि स्थानीय तहहरुलाई आर्थिक नीति बनाउन सजिलो हुने जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख भण्डारीले बताए । गण्डकी प्रदेश अन्तरगत ब्यबसायीक प्रतिष्ठान धेरै हुने जिल्लाको तेस्रो नंम्बरमा गोरखा परेको छ । यस प्रदेशमा कास्की जिल्लामा धेरै र मनाङ जिल्लामा कम ब्यापारीक प्रतिष्ठान रहेका छन् ।




