| मङ्लबार, कार्तिक २४, २०८३

प्रतिगामीसंग सचेत रहौँ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ गाउँमा सिंहदरबार भनेजस्तै दरबार निर्माण भईरहेपनि सिंह भने आउन बाँकी रहेको बताएका छन् । मंगलबार सहिदलखन गाउँ पालिकाको पालिका भवन उद्घाटन समारोहमा बोल्दै उनले संघबाट बन्नु पर्ने कानुन नबन्दा प्रदेश तथा स्थानीय तहहरुले जनअपेक्षा अनुसार काम गर्न नपाएको बताएका हुन् ।

‘गाउँ गाउँमा सिंहदरबार जस्ता भवन हरु त बने । तर, अधिकारको दायरा साँघुरो छ’, उनले भने । उनले गोरखामा माओवादी पार्टी प्रतिपक्ष जस्तो नलाग्ने बताए ।

‘म र प्रचण्डजी सँगै चुनाव लडेर जितेका हौँ । अहिलेको अवस्थामा संघ र प्रदेशमा माओवादी केन्द्र प्रमुख प्रतिपक्षका रुपमा हुनुहुन्छ । तर जब गोरखा जिल्ला प्रवेश गर्छु माओवादी होइन प्रतिपक्ष कोही अरु अरुलाई देख्या जस्तो लाग्छ’, उनले भने, ‘त्यसमा पनि झन जब म प्रचण्डजीसँग हुन्छु कता प्रतिपक्ष कता सत्तापक्ष थाहै हुँदैन् । यो मेरो जीवको अविस्मरणीय पल हो । राजनीति हो भोलि के होला थाहा छैन् तर यो ५ वर्ष हामीले जनतालाई गरेको प्रतिबद्धता मिलेर पूरा गर्नुपर्छ ।
निर्वाचनको बेलामा गोर्खाली जनताहरुले माओवादी र काङग्रेस नभनी जसरी तन मन धनले निर्वाचन गरायो त्यो निर्वाचनको स्पीरिट कायम राख्नु पर्छ ।’

अहिले प्रतिगामी शक्तिहरु आफूले गुमाएको सत्ता फेरि प्राप्त गर्न सकिन्छ कि भन्ने अभिलासाबाट बिभिन्न क्रियाकलाप हरु गरिरहेको उनले बताएका छन् । यसमा सबैजना सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्