
भच्चेक आधारभुत अस्पतालको न्युनतम सेवा मापदण्ड (एमएसएस) अंक ५२ प्रतिशत
अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पतालको न्युनतम सेवा मापदण्ड (एमएसएस) अंक ४२ प्रतिशत रहेको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले गरेको एम.एस.एस कार्यमार्फत अस्पतालले ५२ प्रतिशत अंक प्राप्त गरेको हो ।
पाँच शैयाको भच्चेक आधारभुत अस्पतालको गत आर्थिक वर्ष २०८०÷८१ को एम.एस.एस अंक ४४ प्रतिशत रहेको थियो । यस्तै, आव ०७९÷८० मा अस्पतालले एम.एस.एस बाट २० प्रतिशत अंक प्राप्त गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । उनका अनुसार पालिकाको न्युनतम सेवा मापदण्ड वर्षेनी बढ्दो क्रममा रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पतालको सुशासन, स्वास्थ्य सेवा र व्यवस्थापनको क्षेत्र अध्ययन गरेर न्युनतम सेवा मापदण्डको अंक निर्धारण गर्ने उनले जानकारी दिए ।
‘अहिले हाम्रो आधारभुत अस्पतालले मापदण्ड अनुसारको नवनिर्मित भवनबाट सेवा प्रवाह गरेको छ’, उनले भने, ‘यहाँ २४ सै घण्टा बिरामी चेकअप गर्नुका साथै, दन्त रोग, आँखा रोग, फिजियोथेरापी सेवा र आयुर्वेद सेवा पनि संचालनमा छ । त्यसैले पनि एम.एस.एस अंक बढेको हो ।’ प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा भच्चेक आधारभुत अस्पतालले छिटै शल्यक्रिया र पोस्टमार्टम सेवा संचालन गर्ने उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, गण्डकी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर रेखा पौडेल, धौलागिरी अस्पतालका डाक्टर अमित ढुङ्गाना, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टरहरु रुकमिनी अधिकारी, प्रकाशराज शर्मा, उर्मिला बराल, अजिरकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थितिमा एम.एस.एस कार्य संचालन भएको थियो ।




