
सवालाख रोट महोत्सव सम्पन्न, ३५ हजार बढी भक्तजनहरुले पूजाआजा गरे
गोरखाको गोरखनाथ मन्दिरमा बैशाख २९ गतेबाट शुरु भएको २२ औँ सवालाख रोट महोत्सव बिहीबार सकिएको छ । यो अवधिभर गोरखनाथलाई एक लाख ६५ हजार ४४६ रोट अर्पण गरिएको छ ।
गुरु गोरखनाथलाई रोट अर्पण सहित विभिन्न कार्यक्रमका साथ महोत्सव सकिएको हो । गोरखामा हरेक वर्ष वैशाख पूर्णिमा अथवा गुरु गोरखनाथ प्रकट भएको दिनको अवसर रोट महोत्सव आयोजना गरिन्छ । महोत्सव अवधिभर लोक चुटका भजन एबं नृत्य लगायतका कार्यक्रम भएका थिए ।
हरेक दिन स्तोत्र पाठ, मन्त्रजप, हवन, पुजन, भजनकिर्तन, रोट अर्पण, प्रसाद वितरण कार्यक्रम गरिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रका प्रमुख साधन रामजी अर्यालले बताए । गुरु गोरखनाथ प्रथम पटक प्रकट भएको गोरखनाथ गुफामा भएको रोट महोत्सवले गोरखालाई राष्टिूय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सघाएको अर्यालले जानकारी दिए ।
विश्वशान्ती, मानव कल्याण तथा गुरु गोरखनाथलाई खुसी पारी नेपालीको कल्याणका कोणबाट पनि महोत्सव सफल भएको आयोजकको विश्वास छ । महोत्सव अवधीमा करीब ३५ हजार भक्तजनले रोट चढाएका आयोजकको अनुमान छ । महोत्सवमा भारत सहित देशका काठमाण्डौ, कास्की, भक्तपुर, तनहँु, लमजुङ, बाग्लुङ, स्याङजा नुवाकोट लगायतका जिल्लाबाट पनि भक्तजन आएका थिए । भक्तजनलाई आयोजकले खानेबस्ने सुविधा निशुल्क रुपमा उपलब्ध गराएको थियो ।




