| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाबजारको पुरानो बसपार्कको चौतारा बिस्थापित

गोरखाबजारको पुरानो बसपार्कमा रहेको समीको चौतारा बिस्थापित भएको छ । नयाँ ठाउँमा नयाँ संरचना बनाउने गरी पाँच दशक पुरानो संरचना विस्थापित गरिएको बसपार्क टोल विकास संस्थाले जनाएको छ ।

अहिले समीको चौतारा भएको ठाउँमा फुटपाथ बनाइने गरी जग्गा सम्याइएको छ । गोरखा नगरपालिका र सडक योजना कार्यालयले बसपार्क टोलमा सडक फराकिलो बनाउने र फुटपाथ व्यवस्थापनको काम गरिरहेको छ ।

‘समीको रुख सुकेको पनि थियो । त्यसलाई हटाएर नयाँ रोप्नुपर्ने थियो’, टोल विकास संस्थाका उपाध्यक्ष अयोध्या जोशीले भने, ‘अहिले सडक फराकिलो बनाउने र फुटपाथ बनाउने योजना पनि चलिरहेका बेला त्यसलाई अर्को ठाउँमा सारेर नयाँ बनाउन लागेका हौँ ।’ सो कार्यका लागि गण्डकी प्रदेश सरकारबाट बजेट तथा कार्यक्रम पनि रहेको उनले बताए । ‘अब अहिलेको चौतारा पछाडिको जग्गा उकासेर त्यहाँ पार्क पनि बनाउँछौँ । त्यहाँ रहेको श्यामसुन्दर श्रेष्ठको सालिक पनि त्यही पार्कमा सार्छौँ ।’ अहिले भइरहेको चौतारा र सालिक भएको ठाउँमा सडक र फुटपाथ बनाइने उनले बताए ।

बसपार्क क्षेत्रमा नाला र फुटपाथ निर्माणका साथै सडक फराकिलो बनाउने काम पनि तीब्र रुपमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्