
१० बर्षपछि संसार देख्न पाउँदा रामबहादुरको मुहारमा फिरेको खुशी
प्रतिक्षा आले मगर ।
गुम्दा गाउँका ८८ बर्षका रामबहादुर गुरुङले आज संसार देख्ने दिन । बिगत १० बर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपु¥याए । त्यतिबेलासम्म आँगनमा मान्छेहरु खचाखच थिए । उनीजस्तै आँखाको पट्टी खोल्न अरु ४८ जना पालोमा बसिसकेका थिए ।
आफ्नै गाउँमा गत मंगलबार, बुधबार र बिहिबार आयोजना गरेको शल्यक्रिया शिविरमा उनको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखा रोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो ।
जब डाक्टर खड्काले उनको आँखाको पट्टी खोले, उन बसिरहेको कुर्चीबाट उठे, बिस्तारै आँखाका परेला खोले । १० बर्षदेखि अन्धकार बनेको रंगीन संसार देखे । उनको मुहारमा बिहानीको हिमालमा झै खुशीको लाली चढ्यो । ‘उ, मेरो ज्वाइँ’, भर्खरै बोकेर ल्याएका कर्णमाहिलातिर देखाए, अनि विद्यालयतिर देखाउँदै भने, ‘उ, साइनबोर्ड ।’ डाक्टर खड्काले सम्झाउँदै भने, ‘अहिले सबैतिर हेर्न हतार नगर्नु । बिस्तारै आँखा खोल्नुपर्छ । आजभन्दा भोलि, पर्सि राम्रो देखिन्छ ।’ आफूलाई संसार देखाइदिने डाक्टरतिर हेरे र भित्रदेखि नै प्रफुल्ल हुदै दुवै हात जोडेर आफ्नै भाषामा धन्यवाद दिए ।
दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ बर्षका रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० बर्ष पुग्यो । २०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएका थिए । त्यसको चारबर्षपछि देब्रे आँखा पनि देख्न छाडे । त्यसयता उनलाई आफ्नो घर आँगन परदेश लाग्न थाल्यो, आफन्तहरु पराया जस्ता ।
आफै हिँड्न नसक्ने भएपछि उनलाई परिबारले सुताउने, उठाउने खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो । ‘पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर बिस्तारै मान्छे पनि चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो’, उनले भने, ‘घरमा बूढी पनि रोगी, छोरा बाहिर बिदेशमा छ । एउटा बुहारीले घरको काम, बारीको काम, हामी बुढा, बूढीको स्याहार, नाता नातिनीको स्याहार सबै हेनुपर्छ । बुढेसकालमा अरु केही गर्न नसकेपनि आफ्नो काम चाँही आँफै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । आज सपना पूरा भयो ।’ शल्यक्रियापछि आँखाको ज्योति पाएका उनलाई आफूले नयाँ जीवन पाए जस्तै लागेको बताए ।
शल्यक्रिया पछि ससुरा आँफै हिड्डुल गर्न सक्ने भएपछि कर्णमाइलाले पनि सन्तोषको सास फेरेका छन् । ‘बुढो मान्छे, त्यही माथि आँखा नदेख्ने भएपछि सारै बिजोग हुने रहेछ’, उनले भने, ‘अब त सबै देखेँ, हिँड्छु भनेको छ । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।’
धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्सको आर्थिक सहयोग र मात्रिका आई फाउन्डेशनको प्राविधिक सहयोगमा गुम्दामा निशुल्क आँखा शिविर संचालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङला, लप्सीबोट, यामगाउँ, खानीगाउँ लगायत आसपासका क्षेत्रहरुका चार सय सात जनाले सेवा लिएका थिए । शिविरमा रामबहादुर सहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखा रोग विषेशज्ञ डाक्टर कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएका थिए । विकटको ठाउँमा आएर बृद्धबृद्धाहरुलाई सेवा दिन पाउँदा निकै खुसी लागेको डाक्टर खड्काले बताएका छन् । ‘गाउँ घर यस्तै हो, कति दुख कति सुख । जे होस यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुशी लागेको छ’, उनले भने ।




