
गोरखामा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइयो
गोरखामा विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको छ । गोरखा बौद्ध समाजको आयोजना तथा गोलमती धम्मदान बौद्ध विहारको सहआयोजानमा २५६९ औं बुद्ध जयन्ती एवं त्रि–संयोग दिवस मनाइएको हो । बुद्ध जयन्ती, २६१४ औं सम्बोधी लाभ दिवस र २५६९ औं महापरिनिर्वाण गरी (त्रि–संयोग) दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइएको गोरखा बौद्ध समाजका अध्यक्ष विष्णु राना मगरले बताए ।
दिवसको अवसरमा गोरखा अस्पताल परिसरमा रहेको बौद्ध गुम्बाबाट ¥यालीसहित शन्ति पत्रयात्रा गरिएको उनले बताए । शान्ति पदयात्रा गुम्बाबाट सुरु भएर पाटेचौर–ठुलो आँगन–छहरे–भाँङबारी हुँदै गोरखा बौद्ध गुम्बा निर्माणधीन स्थल मैदान कार्यक्रम स्थलमा पुगेको थियो । अर्जुन भन्तेले कार्यक्रममा सहभागीहरुलाई त्रिशरणमसहित पञ्चशील प्रदान गरेका थिए ।
साथै बौद्ध धर्म र शन्तिको विषयमा प्रवचन समेत सुनाएको अध्यक्ष रानाले जानकारी दिए । कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुति समेत रहेको थियो । साथै गोलमती धम्मदान बौद्ध विहार निर्माण हुने स्थानमा पहिलो पटक खुल्ला रुपमा बुद्धको मूर्ति स्थापना गरिएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष प्रेमध्वज थापाले बताए ।
सो मूर्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले अनावरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निर्माणधीन बौद्ध गुम्बा निर्माण सम्पन्न गर्न सक्दो सहयोग गर्ने मेयरले प्रतिबद्धता समेत व्यक्त गरे ।
गोरखा बौद्ध समाजका अध्यक्ष विष्णु रानाको अध्यक्षता तथा मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष प्रेमध्वज थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्र प्रसाद सुवेदी, गोरखा संग्रालयका प्रमुख जयन्त नारायण कार्की, जग्गादाता मोहन रत्न शाक्यलगायतले मन्तव्य राखेका थिए ।




