| आइतवार, कार्तिक २२, २०८३

निर्वाचन क्षेत्रमा मुख्यमन्त्री पाण्डेको व्यस्तता : सडक शिलन्यासदेखि खानेपानी उद्घाटनसम्म

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुई दिन आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिए । बिहीवार र शुक्रवार उनी शिलन्यास र उद्घाटन जस्ता औपचारिक कार्यक्रममा सहभागी बने । बिहीवार बिहान उनले सिरानचोक गाउँपालिका–६ मा निर्माण भएको असुराघारी बसेरीगाउँ खानेपानी आयोजनाको उद्घाटन गरे ।

१ करोड ९३ लाख लागतमा निर्माण भएको उक्त आयोजनाबाट २ सय ७० घरधुरी लाभान्वित छन् । प्रदेश सरकारको यस आयोजना अन्तरगत मुहान संरक्षण, घेरावार लगायतका केही काम भने बाँकी छन् । आयोजना उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले यो बर्ष ५० लाखभित्र सम्पन्न हुने जिल्लाका ४४ वटाभन्दा बढी एकल योजनाको स्रोत सुनिश्चित गरिसकेको बताए ।

प्रदेशभर अलपत्र परेका योजना सम्पन्न गर्दै लैजाने प्रदेशको योजना रहेको उनले जानकारी दिए । सोही दिन उनले गोरखा नगरपालिका–१० छेवेटारमा बनेको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवनको स्थलगत निरीक्षण गरे । करिव साढेँ चार करोडमा निर्माण भएको उक्त भवन संचालनको मोडालिटी तयार गरिने उनले बताए । शुक्रवार बिहानै उनी अजिरकोट गाउँपालिकाको चनौटे–ढिस्का–भच्चेक सडक शिलन्यास गर्न पुगे ।

गण्डकी प्रदेश सरकारको ३८ करोड ९३ लाख (भ्याट वाहेक) लागतमा सडक कालोपत्रे गर्न लागिएको हो । आयोजना अन्तरगत सडक चौडासँगै पक्की नाला र टेवा पर्खाल निर्माण हुने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । केही भागमा आरसिसी ढलान समेत हुने छ । खड्का कृष्ण नव कान्तिपुर जेभीसँग ठेक्का सम्झौता भएर काम अघि बढेको उक्त आयोजना २०८४ साल असार २५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ । सडकको दुरी कुल १४.३ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्