
बारपाकको भीसी गजे घलेको स्मारक फाउण्डेसन र संग्रहालय स्थानीयका लागि खुल्ला
भी.सी. गजे घले नेपाल तारा स्मारक फाउण्डेसन भवन एवं संग्रहालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संग्रहालयको उद्घाटन गरेका हुन् । बारपाकमा जन्मेका गजेले दोस्रो बिश्वयुद्धमा बर्माको रंगुनस्थित चिनहिलमा जापानी फौजमाथि ब्रिटिस सरकार मातहतमा रहेको भारतीय सेनाले विजय हात पार्दा आफ्नो बहादुरी देखाएका थिए ।
खुकुरीका भरमा १३ जापानी सैनिकलाई आक्रमण गरेर देखाएको साहसका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो । नेपाल सरकारको तर्फबाट समेत श्री ३ महाराज जुद्धशमशेरले नेपाल–ताराको पदक उनलाई प्रदान गरेका थिए । उनै घलेको सम्झनामा उनका परिवारले बारपाकमा स्मारक फाउण्डेसन भवन र संग्रहालय बनाएका हुन् । संग्रहालयमा घलेको अर्ध कदको शालिकसँगै उनको जीवनको व्यक्तिगत सामग्रीका दस्तावेज र तस्विरहरु राखिएका छन् । शुक्रवारदेखि सर्वसाधारणका लागि उक्त संग्रहालय खुल्ला गरिएको बताइएको छ ।
कार्यक्रमकै अवसरमा घलेको जीवनीमा आधारित ‘गजे घले भेडीगोठदेखि भीसीसम्म’ भन्ने पुस्तकको विमोचन समेत गरियो । रेखा भन्तनाद्धारा लिखित उक्त पुस्तकको बिमोचन मुख्यमन्त्री पाण्डेले गरेका हुन् । घलेको गाउँ र उनको जीवनका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बिरताको प्रतिकको रुपमा बारपाकलाई विश्वभर चिनाउन गजे घलेको योगदान उच्च रहेको बताए ।
उनको योगदानले बारपाकीमात्र होइन समग्र गोर्खालीहरुलाई आँट र साहससँगै देशप्रतिको कर्तव्यवोध गराएको उनले धारणा राखे । बारपाक भूपू कल्याणकारी समिति र गजे घलेका परिवारहरुको समन्वयमा कार्यक्रम भएको हो । उक्त स्मारक निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ । ‘घलेकै परिवारको खर्चमा यो बनेको हो,’ जीतबहादुर घलेले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा थप सहयोग मिल्छ भन्ने हाम्रो अपेक्षा छ ।’ यसको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।




