| आइतवार, कार्तिक २२, २०८३

छेवेटारको जेष्ठ नागरिक आवास भवन संचालनमै अन्योल !

गोरखा नगरपालिका–१० छेपेटारमा बनेको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन संचालनमा अन्यौलता देखिएको छ ।
बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले करिव साढेँ चार करोड खर्चेर उक्त भवन बनाएको थियो । तर भवनलाई कसरी सदुपयोग गर्ने भन्नेमा प्रदेश सरकार आफै अन्योलमा छ । स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेश आफैले संचालन गर्ने भन्ने पनि हालसम्म यकिन छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन संचालनको तीन वटा मोडालिटी हुन सक्ने बताए । ‘कुनै संस्थालाई चलाउन दिने वा स्थानीय तहसँग सम्झौता गरेर चलाउने वा प्रदेश आफैले चलाउने भन्ने तीन वटा मोडालिटी हामीले सोचेका छौँ,’ उनले भने, ‘आवश्यक छलफल गरेर यी मध्ये एउटा मोडालिटीमा संचालन गर्छाैँ ।’ भवन संचालनका लागि कार्यविधि समेत तयार गरिने उनले जानकारी दिए ।

पोखरामा महानगरपालिकासँगको साझेदारीमा घरेलु हिंसा पीडित महिलाहरुको उद्धार केन्द्र संचालनका लागि सम्झौता भएर कार्यविधि समेत निर्माण भएको बताउँदै उनले सोही कार्यविधि अनुसार जेष्ठ नागरिक आवास भवन संचालन गर्न सकिने धारणा उनको थियो । जेष्ठ नागरिक आवास बाहेक अन्य प्रयोजनका लागि पनि भवन प्रयोग हुन सक्छ ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले भने, ‘जेष्ठ नागरिककै लागि भनेर हामीले यो भवन बनाएका हौ ।

त्यसको सम्भावना देखिएन भने पनि सामाजिक प्रयोजनका लागि बनेको भएकाले व्यापारिक प्रयोजनमा जादैनौ, जुन प्रयोजनका लागि बनेको हो त्यसकै लागि प्रयोग गर्न प्रयत्न गर्छौ ।’ बिहिवार उनले उक्त भवनको स्थलगत निरीक्षण समेत गरेका छन् ।
२०७६ सालबाट भदौ १ गते आशिष इको जेभीसँग ठेक्का सम्झौता भएर भवन निर्माणको काम अघि बढेको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।

‘शहरी बिकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेको रहेछ,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘पछि यो योजना हाम्रो कार्यालयलाई हस्तान्तरण भयो ।’ दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि गत असोज महिनामा मात्र सम्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभएपछि बिभिन्न चरण गरी तीन पटक म्याद थप भएको थियो ।

कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हलसहित २४ कोठा छन् ।सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको कार्यालयले जनाएको छ । भवनमा रंगरोगनसँगै बिजुली जडान भइसकेको छ ।

केही कोठाहरुमा एयर कन्डिशन (एसी) समेत जडान गरिएको कार्यालय प्रमुख सुवेदीले बताए । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको उनले जानकारी दिए । भवन रेखदेखका लागि एक जना व्यक्ति समेत खटाइएको छ । प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्