
सिरानचोकको असुराघारी बसेरीगाउँ खानेपानी आयोजना मुख्यमन्त्रीद्वारा उद्घाटन
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका ६ को असुराघारी बसेरीगाउँ खानेपानी आयोजना उद्घाटन गरेका छन् । असुराघारी बसेरीगाउँ खानेपानी उपभोक्ता समितिले बिहिबार आयोजना गरेको एक कार्यक्रमकाबीच खानेपानी योजनाको उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले यो वर्ष प्रदेश सरकारले जिल्लाका ५० लाखभित्र निर्माण पूरा हुने ४४ वटाभन्दा बढि एकल योजनाको स्रोत सुनिश्चित गरिसकेको बताएका छन् । यस्तै, उनले एउटै योजनामा हरेकवर्ष थोरै बजेट बिनियोजन हुने र निर्माण पुरा गर्न वर्षैँ लाग्ने हुँदा खानेपानी योजनाहरु निर्माण सुरु भएर पनि अलपत्र रहेको बताए ।
प्रदेश सरकारले प्रदेशभरी अलपत्र परेका, लामो समयसम्म पानी संचालन हुन नसकेका योजना सङख्या घटाउँदै सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । असुराघारी बसेरीगाउँ खानेपानी आयोजना सिरानचोक गाउँपालिका वडा नं ६ को आलेगाउँ, दमैगाउँ, ठूलोगाउँ र खनालगाउँको २७० घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यसहित निर्माण गरिएको हो ।
हाल आयोजनाले आधारभूत स्तरको आनेपानी वितरण सुरु गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका इन्जिनियर दिपक खनालले बताए । आयोजना अन्तरगत मुहान संरक्षण, घेरावार, केवल क्रसिङ र एउटा टंकी निर्माणको काम बाँकी रहेको उनले जानकारी दिए । १ करोड ९३ लाख लगानीमा आर्थिक वर्ष २०७८/७९ बाट निर्माण सुरु भएको आयोजनाको काम यही असोजभित्र सम्पन्न हुने उनको भनाई छ ।
असुराघारी बसेरीगाउँ खानेपानी आयोजनाका अध्यक्ष रणबहादुर खनालको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेत, सिरानचोक गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष प्रेम बस्ती, पूर्व वडाअध्यक्ष नारायण दानी लगायतले मन्तव्य राखेका थिए ।




