| मङ्लबार, कार्तिक २४, २०८३

जन्म दिनको अवसरमा युवा सम्मान कार्यक्रम

सामाजिक काम गर्ने उद्देश्यले स्थापित राइट इन्टरभेन्सन् टिम अफ एसिया (रिटा) फाउन्डेशनकी संस्थापक रिता परियारले युवाहरुलाई सम्मान गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् । परियारले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विभिन्न क्षेत्रमा क्रियाशील जिल्लाका पाँचजना युवाहरुलाई सम्मान गरेकी हुन् ।

दुईवर्षदेखि प्रदेश अस्पताल गोरखामा कार्यरत मेडिकल अफिसर अहमद रजा मियाँ, आमसञ्चार तथा पत्रकारिता अध्ययन गरिरहेकी विभिन्न क्षेत्रमा क्रियाशील युवा गरिमा श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियन द्रव्यशाह बहुमुखी क्याम्पस इकाईका सभापति अविन श्रेष्ठ, जिल्ला सदरमुकाम लामो समयदेखि व्यवसाय गर्दै आएकी धार्चे गाउँपालिकाकी महिला व्यवसायी अनिता गुरुङ र विगत दुई दशकदेखि शिक्षण पेशामा आवद्ध कमला परियार कार्यक्रममा सम्मानित भएका छन ।

साथै परियारले आफूलाई पढाएकी शिक्षिका मन्जु अर्याललाई पनि सम्मान गरेकी छिन । जन्मदिनमा अनावश्यक तामझाम गर्नुभन्दा केही फरक र प्रेरणादायी काम गरौँ भनेर युवा सम्मान कार्यक्रम आयोजना गरेको रिटा फाउन्डेसनकी संस्थापक रिता परियारले बताइन् ।

‘आजको युवा भोलिको कर्णधार हो, उनीहरुलाई सम्मान गरेर हौसला बढाउनुपर्छ’, उनले भनिन्, ‘देश बनाउने युवाहरुले हो । उनीहरुले गरेका साना ठुला कामहरुलाई कदर गर्नुपर्छ । मैले जन्मदिनको अवसर पारेर उहाँहरुको राम्रो कामलाई पहिचान गरेकी हुँ । राज्यले पनि यसरी युवाको क्षमता पहिचान गर्न जरुरी छ ।’

परियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना, गोनपाकी निवर्तमान नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गोनपाको नगर कार्यपालिका सदस्य पम्फा गान्धारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्