
एयरपोर्टभरि गाईभैँसी, धावनमार्गभरि ट्रक र ट्याक्टर
गोरखाको पालुङटार विमानस्थलमा अहिले जहाज हैन, गाईगोरु, भैँसीराँगाहरु बग्रेल्ती बसिरहेका, चरिरहेका, जुधिरहेका, खेलिरहेका देखिन्छन् । धावनमार्गमा जहाज होइन, ट्रक, ट्रयाक्टर, बस, जीपलगायतका सवारी साधनहरुको वालालस्कर कुदिरहेका स्थानीय अनिल थपलिया बताउँछन् ।
विमानस्थल स्तरोन्नति गर्ने, घेराबार गर्ने र धावनमार्गलाई चुस्तदुरुस्त राख्ने भनी २०७७ मा ३ करोड रकम आएको थपलिया बताउँछन् । काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले नागरिक उड्ययन प्रधिकरणसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुन नसकेको उनले बताए ।
अहिले विमानस्थलको धावनमार्ग गाडी दौडाउने ‘सटकट’ बाटो बनेको छ र एयरपोर्टचाहिँ आसपासका किसानका घरपालुवा पशुचौपायाका लागि फराकिलो चरनक्षेत्र बनेको छ । पालुङ्टार नगरपालिका वडा नं. ५ र ६ मा पर्ने सो एयरपोर्टको धावनमार्गमा एक महिनायता सवारी साधन बाक्लै गुड्ने गरेको वडाअध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।
‘अहिले तुरतुरेदेखि राधाकृष्णमन्दिर हुदै ठाँटीपोखरी जाने सडक कालोपत्रे गर्न लागेको छ’, पाण्डेले भने, ‘त्यसै हुनाले गाडी डाइभर्सन गरेर हवाइग्राउण्डबाट बाइपास गराएको छ । गाडी कुद्न थालेपछि सबबेस ओछ्याएर छाडेको धावनमार्ग धुलाम्मे भएको छ । नत्र घाँस उम्रिएको थियो ।’ राज्यको ढुकुटीको तीन करोड खर्चेर पनि धावनमार्ग स्तरोन्नतिको काम अलपत्र बनाएको उनले बताए । ‘कि विमानस्थल प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाउनु प¥यो’, उनले भने, ‘विमानस्थल प्रयोगमा नल्याउनु थियो त अहिले स्तरोन्नतिको नाममा करोडौं किन खर्च गर्नुप¥यो ?’
विमानस्थलको जग्गा अतिक्रमण गरेर पक्की संरचना निर्माण भएका कारण विमानस्थल पुनर्निर्माणमा कठिनाइ भएको हो । विमानस्थलको जग्गा व्यक्तिले पनि अतिक्रमण गरेको र राज्यले पनि पक्की सडक निर्माण गरेपछि विमानस्थल स्तरउन्नतिको कामले पूर्णता पाउन नसकेको हो । लामो समयदेखि बन्द रहेको विमानस्थलभित्र पक्की सडक निर्माण गरिएको छ । सोही सडकको विवादका कारण विमानस्थल स्तरोन्नतिमा ढिलाई भएको पालुङटर विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विमानस्थलको संरचना निर्माण र हाल भएको हवाई मैदान सुधारका लागि २०७७ असार ३१ गते ठेक्का सम्झौता भएको थियो । एक वर्षभित्र पूर्वाधार निर्माण र सुधारको काम सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्शन प्रालिले दुई करोड ७६ लाख ९७ हजार सात सय ३५ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ साउन १४ गते काम सक्नुपर्ने थियो । तर कोभिड र सडक विवादको कारण देखाउँदै विमानस्थलको स्तरउन्नति कार्य रोकिएको थियो । समयमै काम सम्पन्न नभएपछि ठेक्का सम्झौता चैत्र मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।
नापी कार्यालय गोरखाबाट गएको टोलीले नापजाँच गर्दा विमानस्थलकै जग्गाबाट पक्की सडक लगेको पुष्टि भएको थियो ।
३३६ रोपनी क्षेत्रफलमा पैmलिएको विमानस्थलको छेउबाट पक्की सडक निर्माण गरेकाले घेराबार गर्न समस्या भएको हो । विमानस्थल बरिपरि तीन किलोमिटर घेरबार गर्नुपर्नेमा जग्गा अनिक्रमणसम्बन्धी विवादका कारण अभैm सातदेखि आठसय मिटर बाटोमा घेराबार गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।
त्यस्तै, १२ सय मिटर, लम्बाई र चौडाई ३० मिटर फराकिलो रहेको धावनमार्गमा सव–बेस मात्र ओछ्याइएको छ । नागरिक उड्डयन प्राधिकरणले कम्तीमा ४२ सीटको विमान उडान अवतरण गर्न सक्ने गरी संरचना निर्माण कार्य सुरु गरेको हो । यसअघि घाँसेमैदान बनेको सो विमानस्थल धावनमार्ग बनेपछि आफ्नै स्वरुपमा फर्किने अपेक्षा थियो ।
उक्त विमानस्थल २०१७ सालमा निर्माण पूरा भएर २०१८ सालदेखि उडान सेवा सुरु भएको थियो । २०१७ सालमा गोरखा, तनहुँ, लमजुङ, मनाङका विभिन्न क्षेत्रमा खाद्य संकट हुँदा जहाजमार्पmत खाद्यान्न ढुवानी गरिएको थियो । २०३४ सालसम्म यी जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाइपहरु पनि जहाजबाट ओसारपोसार गरिएको थियो । काठमाडौं पोखरा राजमार्ग निर्माण भएर सस्तो भाडामा बस सेवा चल्न थालेपछि २०३८ सालदेखि यो विमानस्थल बन्द भएको स्थानीयबासीको भनाइ छ ।




