
गोरखाको आँखा सेवा केन्द्रमा एकैदिन १८ जनाको मोतियाविन्दू अप्रेशन
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रमा यसपटक १८ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० जनासहित १८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।
जिल्लाका अन्य स्थानीय तहका ८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए । जसबाट महिला ७ जना र पुरुष ११ जनाले सेवा लिएका छन् । आँखा सेवाकेन्द्रमा हरेक महिनाको १९, २० र २१ गते नियमित रुपमा आँखा अप्रेशन शिविर सञ्चालन हुने गर्छ । १९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टि खोल्ने नियमित कार्यतालिका रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।
गोरखा नगरपालिका भित्रका आँखाको बिमारीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताए । ‘गोरखा नगरपालिका भित्रका बिमारीकोे उपचार तथा शल्यक्रिया निःशुल्क हुन्छ’, उनले भने, ‘अन्य पालिकाहरुको भने शुल्क लिएर सशुल्क नै उपचार गर्ने गर्छौँ ।’
उनीहरुको आइतबार बिहान आँखाको पट्टी खोलिएको छ । हिमालय आँखा अस्पतालबाट आएका आँखा रोग विशेषज्ञसहितको टोलीको सहयोगमा उनीहरुको आँखाको शल्यक्रिया गरेका हुन् ।




