
ट्रयाक खनेको २८ बर्षपछि घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक कालोपत्रे
गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्रे भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खनेको २८ बर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्रे गरेको हो । दुईलेनको सो सडकको चौडाइ सात मिटर रहेको छ ।
एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले २९ करोड ७७ लाख रुपैया लागतमा सो सडक कालोपत्रे गरेको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । सो जेभी कम्पनीले २०८१ साल चैत्र मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता गरेको योजना कार्यान्वयन गर्ने कार्यालय पूर्वाधार विकास कार्यालयका गोरखाले जनाएको छ ।
‘ठेक्का सम्झौता भएपछि कोभिडका कारण केही ढिलाइ भएको थियो’ कार्यालयका इन्जिनियर कपिल काप्रीले भने, ‘सडक कालोपत्रेसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी वाल निर्माणको काम सम्पन्न भइसकेको छ । अस्फाल्ट प्रविधिको कालोपत्रे भएको हो । सडक कालोपत्रे भएपछि स्थानीयहरु निकै उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङले बताए ।
हाल सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘यो ट्रयाक त २०५४ तिरै खुलेको हो तर हालसम्म पनि कालोपत्रे हुन सकेको थिएन’, उनले भने, ‘हामी त कालोपत्रे हुँदैन होला, सँधै कच्ची सडकमै यात्रा गर्नुपर्ने होला भनेर चिन्ता गरिरहन्थ्यौँ । तर ढिलै भएपनि काम सुरु भयो । हामी सबै खुशी छौँ ।’ यसअघि पानी परेका बेला सडक हिलाम्य र नपरेका बेला धुलाम्य हुँदा मोटरसाइकलमा यात्रा गर्न कठिन थियो । कालोपत्रे भएपछि यात्रा सजिलो भएको भन्दै स्थानीयबासी खुशी भएका छन् ।
सडक कालोपत्रे नहुँदा स्थानीयहरुले धेरै नै सास्ती खेप्नु परेको वडाअध्यक्ष गुरुङले बताएका छन् । उनी भन्छन्, ‘पहिला कच्ची सडक हुँदा यातायातको समस्या थियो । बर्खााको बेलामा ठाउँ ठाउँमा पहिरो जाने, सडक कहिले हिलाम्मै र कहिले धुलाम्य हुने हुँदा धेरै नै सास्ती थियो । कच्ची सडकमा यात्रा गर्दा सवारी साधन पनि चाँडै–चाँडै बिग्रिरहने, समय पनि धेरै लाग्ने र इन्धन पनि धेरै लाग्ने हुन्थ्यो । अब यी सबै समस्याबाट मुक्त हुने भइएको छ ।’ सडक कालोपत्रे भएपछि हिउँद बर्खै सहजै यातायात संचालन हुने उनको भनाइ छ ।
बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने सो सडकखण्ड कालोपत्रेको काम सम्पन्न भएपछि पालिकाबासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहजता हुने विश्वास त्यहाँका स्थानीयहरुको छ ।




