
३३ केभीविद्युत प्रशारण लाइन बिवाद : पोल गाड्न गएका टोलीलाई स्थानियले फर्काइदिए
गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी विद्युत लाइन बिस्तारको क्रममा पोल गाड्न गएका टोलिलाई स्थानियहरुले फर्काइदिएका छन् । बुधबार गोरखा नगरपालिका–८ सिमलगैरी र नौबिसेका स्थानियहरुले सो क्षेत्रमा विजुली पोल गाड्न गएका टोलीलाई फिर्ता पठाएको हो ।
डिपिआर गरेकोभन्दा फरक रुटबाट ट्रान्समिसन लाइन विस्तारको काम गरेको भन्दै स्थानियहरुले बिरोध गरेका हुन् । गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको विद्युत लाइन बिस्तारका लागी २०७२ सालमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भईसकेको थियो । डिपीआर अनुसार ३३ केभी लाइन खोलखोले, मानसेवाआश्रम, आलेगाउँ, चुच्चेढुङ्गा, खल्लुबोटे हुँदै गोरखा सव–स्टेशनमा जोड्नुपर्नेमा एकाएक रुट परिवर्तन गरिएको नौविसेका शरण श्रेष्ठले बताए ।
उनका अनुसार हाल विद्युत प्राधिकरणले सल्यानधारा, सिर्दिखोला, कृषि राजमार्ग, खाल्टे खोला, नौबिसे, सिमलगैरी, गोरखा नगरपालिका गेट, चुच्चेढुङ्गा, खल्लुबोटे हुँदै गोरखा सव–स्टेशन जोड्ने रुट तय गरेको छ । ‘डिपीआर गरेको रुट अनुसार मेन रोडबाट जम्मा साँढे २ देखि ३ किलोमिटरमा सव–स्टेशनमा पुगिन्छ तर त्यसलाई घुमाएर अहिले ६ किलोमिटरको रुट तय गरेका छन्’, श्रेष्ठले भने, ‘नगरपालिकाले यस विषयमास्थायिनहरुसँग बैठक बसेर सहमति भएको भन्ने प्रतिवेदन तयार गरेको रहेछ तर, हामीहरुलाई यस विषयमा केही खबर छैन ।’
रुट परिवर्तन गरेपछि नगरपालिकाले ठेकेदार कम्पनीसँग क्षतिपूर्ती बापत ४३ लाख रकम समेत बुझेको उनले बताए । उनी भन्छन्, ‘हामी विकासको बाधक होइनौँ । हाम्रो माग प्राधिकरणले आफ्नो रुट अनुसार काम गर्नुपर्छ भन्ने मात्र हो । यदी नगरपालिका र प्रशासनले बल प्रयोग गरे हामी सर्वोच्च अदालतसम्म जान तयार छौँ । हामीसँग सबै प्रमाणहरु छन् ।’
केही जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थका कारण विवादको अवस्था सिर्जना भएको गोनपा–८ खल्लुबोटेका स्थानिय बेलबहादुर बस्नेतले बताए । प्राधिकरणले डिपीआर गरेको रुटमा पोल समेत गाडिसकेकोमा केही व्यक्तिहरुको स्वार्थका कारण रुट परिवर्तन भएको उनले जानकारी दिए । ‘पहिला पोल गाडेको ठाउँमा अझैँ पनि खाडल छ । तर, यहाँ आफ्नो जग्गामाथि हाइटेन्सनको लाइन राख्दा जग्गाको भाउ घट्छ भनेर चलखेल भएको हो’, उनले भने, ‘हामीले वडा, नगरपालिका र प्रशासनमा पटक पटक आफ्नो कुरा राख्दा समेत सुनुवाई भएन त्यसैले अहिले विवादको अवस्था सिर्जना भएको हो ।’
गोरखा नगरपालिकाको जग्गा विवादका कारण गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीका लाइन बिस्तारको काम अन्योलमा छ । गोरखा नगरपालिकाको क्षेत्र बाहेक अन्य ठाउँको काम भने सम्पन्न भईसकेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिज बहादुर गुरुङले बताए । गोरखा नगरपालिकाले सडकको मापदण्ड निर्धारण नगर्दा उक्त विवाद उत्पन्न भएको उनको भनाइ छ ।
गोरखा–घ्याम्पेसाल विद्युत लाइन बिस्तारको काम सम्पन्न भए जिल्लाको विद्युत अनियमितता धेरै कम हुने उनले बताए । ‘हाल जिल्लामा ११ केभीको एउटै लाइन धेरै क्षेत्रमा फैलिएको छ, यसो हुँदा एक ठाउँमा सानो समस्या हुने बित्तिकै त्यो लाइनले छोएको ठाउँहरुमा लाइन जाने समस्या हुन्छ’, उनले भने, ‘लाइन जाने क्रमलाई कम गर्ने उद्देश्य सहित ११ केभीको लाइनलाई छोट्याएर वितरण गर्ने तयारी भइरहेको छ ।’ लाइन छोटो भएमा विद्युतीय अबरोध कम हुने उनले बताए ।
हाल प्राधिकरणले गोरखा सब–स्टेशनबाट घ्याम्पेसालस्थित मसेलमा ३३ केभी लाइन लैजाने र त्यहाँबाट ११ केभीमा ब्रेकडाउन गरेर अन्य ठाउँहरुमा वितरण गर्ने तयारी गरिरहेको छ । विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी लाइन बिस्तारको काम संचालन गरेको हो ।
प्राधिकरणले मसेलको सबस्टेशन निर्माण र लाइन बिस्तारको लागि ‘एटु जेट् इन्फा इन्जिनियरिङ्ग एण्ड त्रिपुरेश्वर जयदुर्गे सव–कन्ट्रयाक्’सँग ठेक्का सम्झौता गरेको थियो । १५ करोडमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम गत डिसेम्बरमा नै सम्पन्न भइसक्नुपर्नेमा गोरखा नगरपालिकाको जग्गा विवादका कारण ढिलाई भएको कार्यालय प्रमुख गुरुङले बताए ।
‘यो कामका लागि धेरै पटक म्याद थप भइसकेको छ, जग्गा विवादकै कारण लाइन बिस्तारको काम लम्बिएको हो’, उनले भने । विद्युत क्षेत्रको काम शत प्रतिशत सम्पन्न नभएसम्म सुचारु नहुने भएकाले पनि एक ठाउँको विवादले वर्षौसम्म काम अड्किएको उनले बताए । सो क्षेत्रको काम सम्पन्न भए अन्य ठाउँमा पनि लाइन विस्तारको काम हुने उनको भनाइ छ ।




