
गोरखा–घ्याम्पेसाल विद्युत लाइन बिस्तार : विवादकै बीच गाडियो पोल
गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको विद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादकै बीच बिजुली पोल गाडिएको छ । जग्गा विवादका कारण लाइन बिस्तार हुन नसकेको गोरखा नगरपालिका वडा नम्वर ६, ८ र ९ को करिव दुई किलोमिटर क्षेत्रमा हाल धमाधम पोल राख्ने काम भइरहेको छ ।
प्रशासन कार्यालय र नगरपालिकाले अतिरिक्त बल प्रयोग गरी विजुली पोल राख्न सुरु गरेको गोरखा नगरपालिका वडा नं ८ खल्लुबोटेका बेलबहादुर बस्नेतले बताए । आफूहरु विकास निर्माणको बाधक नभएको बताउँदै उनले सरोकारवाला निकायहरुले पहिला डिपिआर गरेकोभन्दा फरक ठाउँबाट ट्रान्समिसन लाइन विस्ताको काम गरेको गुनासो गरे ।
‘यो आयोजनाको डिपिआर अनुसार गोरखा नगरपालिकाको कार्यालयबाट खेतखेतै पोल गाडेर लैजानु पर्ने थियो । त्यसका लागि प्राधिकरणले खाल्डो पनि खनिसकेको थियो । अहिले एक्कासी आएर हाम्रो घरबस्ती क्षेत्रमा पोल गाडिएको छ’, उनले भने, ‘हाम्रो माग डिपिआर अनुसार काम गर्नुपर्छ भन्ने हो । डिपीआरमा हाम्रो गाउँ क्षेत्रबाट लाइन तान्ने भनेर खुलाएको रहेछ भने हामी सहजै मान्न तयार छौँ । डिपिआर देखाउनुहोस् भन्दा त्यो पनि देखाउन मान्नु भएन । उल्टै बिरोधमा उत्रिने गाउँलेलाई प्रहरी प्रशासन लगाएर जबरजस्ती पोल गाडियो ।’
खल्लुबोटे क्षेत्रका बासिन्दाहरुको माग नगरपालिकाले सडकको मापदण्ड निर्धारण गर्नुपर्छ भन्ने पनि छ । स्थानीय भुलबहादुर बस्नेतले गोरखा नगरपालिकाले सडक मापदण्ड निर्धारण नगरेकै कारण विवाद भएको बताए ।
उनी भन्छन्, ‘अहिले पोल राखेको सडकको चौडाई जम्मा ६ मिटर छ । हाम्रो चिन्ता पोल गाडिसकेपछि सडक फराकिलो बनाउन नसकिएला भन्ने पनि छ । हामीले पहिले नै नगरपालिकालाई ८ मिटर चौडाइ छोडेर पोल राखौँ भनेको तर हाम्रो कुरा बेवास्ता गरियो । न त उनीहरुले सडक मापदण्ड नै बनाए ।’ भुलबहादुर लगायत खल्लुबोटे क्षेत्रका अधिकांश स्थानीयहरुले ३३ केभी लाइनको पोल राखिसकेपछि सडक विस्तार गर्न नमिल्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिज बहादुर गुरुङले पनि गोरखा नगरपालिकाले सडकको मापदण्ड निर्धारण नगर्दा उक्त विवाद उत्पन्न भएको बताए । हाललाई भने जग्गा विवादको विषय टुङ्गो लागेको उनले जानकारी दिए । ‘गोनपा–८ को खल्लुबोटे क्षेत्रमा धेरै विवाद थियो । त्यो विवाद टुङ्गो लागिसकेको छ । गोनपा ६ र ९ को हकमा पनि कुरा मिलिसक्यो’, उनले भने ।
गोरखा–घ्याम्पेसाल विद्युत लाइन बिस्तारको काम सम्पन्न भए जिल्लाको विद्युत अनियमितता धेरै हदसम्म कम हुने उनले बताएका छन् । विवादित क्षेत्रवाहेक अन्य ठाउँमा भने काम लगभग सम्पन्न भइसकेको उनको भनाइ छ । हालसम्म करिब ८० प्रतिशत काम भइसकेको गुरुङले जानकारी दिए ।
‘हाल जिल्लामा ११ केभीको एउटै लाइन धेरै क्षेत्रमा फैलिएको छ, यसो हुँदा एक ठाउँमा सानो समस्या हुने बित्तिकै त्यो लाइनले छोएको ठाउँहरुमा लाइन जाने समस्या हुन्छ’, उनले भने, ‘लाइन जाने क्रमलाई कम गर्ने उद्देश्य सहित ११ केभीको लाइनलाई छोट्याएर वितरण गर्ने तयारी भइरहेको छ ।’ लाइन छोटो भएमा विद्युतीय अबरोध कम हुने उनले बताए ।
हाल प्राधिकरणले गोरखा सब–स्टेशनबाट घ्याम्पेसालस्थित मसेलमा ३३ केभी लाइन लैजाने र त्यहाँबाट ११ केभीमा ब्रेकडाउन गरेर अन्य ठाउँहरुमा वितरण गर्ने तयारी गरिरहेको छ । विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी लाइन बिस्तारको काम संचालन गरेको हो ।
प्राधिकरणले मसेलको सबस्टेशन निर्माण र लाइन बिस्तारको लागि ‘एटु जेट् इन्फा इन्जिनियरिङ्ग एण्ड त्रिपुरेश्वर जयदुर्गे सव–कन्ट्रयाक्’सँग ठेक्का सम्झैँता गरेको थियो । रु १५ करोडमा ठेक्का सम्झौँता भएको उक्त आयोजनाको काम गत डिसेम्बरमा नै सम्पन्न भइसक्नुपर्नेमा गोरखा नगरपालिकाको जग्गा विवादका कारण ढिलाई भएको कार्यालय प्रमुख गुरुङ बताउँछन् ।
‘यो कामका लागि धेरै पटक म्याद थप भइसकेको छ, जग्गा विवादकै कारण लाइन बिस्तारको काम लम्बिएको हो’, उनले भने । विद्युत क्षेत्रको काम शत प्रतिशत सम्पन्न नभएसम्म सुचारु नहुने भएकाले पनि एक ठाउँको विवादले वर्षौसम्म काम अड्किएको उनले बताए । सो क्षेत्रको काम सम्पन्न भए अन्य ठाउँमा पनि लाइन विस्तारको काम हुने बताइएको छ ।




