
च्यानेखोलामा चेक ड्याम निर्माणको कामले तिव्रता पाउँदै
बिसौनीमोडबाट गोरखा क्याम्पस जाने सडकमा चेक ड्याम निर्माणको कामले तिव्रता पाएको छ । बिसौनीमोड स्थित च्यानेखोला सालबोटे पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माणको काम सुरु भएको हो ।
जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना कार्यालयको ८५ लाख रुपैँया बजेटमा चेक ड्याम निर्माणको काम सुरु गरिएको गोरखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । च्यानेखोला सालबोटे पहिरोका कारण गोरखाबजार नै जोखिममा परेकाले चेक ड्याम निर्माण गरेको उनले जानकारी दिए ।
‘यस क्षेत्रको पहिरोका कारण पुरानो बसपार्क, नयाँबजार क्षेत्र र सालबोटे क्षेत्रमा समेत धक्का पुगेको छ । सिंगै गोरखा बजार नै जोखिममा परेको छ’, उनले भने, ‘चेक ड्याम निर्माण भएपछि केही हदसम्म भएपनि पहिरो रोकथाम गर्न सकिएला भन्ने आशा छ ।’ पहिरो नियन्त्रणका लागि हाल चेक ड्याम र पर्खाल निर्माणको काम धकाधम संचालन भइरहेको उनले जनाए ।
गोनपा वडा नं ६ र ७ को सिमाना चिहाने खोलामा चेक ड्याम निर्माणको काम संचालन भइरहेको छ । ‘करिब १०, १२ ठाउँमा चेक ड्याम निर्माण हुन्छ’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘साथै, ठाउँ ठाउँमा गरेर जम्मा ७० देखि ८० मिटर लम्बाइको पर्खाल पनि निर्माण भइरहेको छ ।’ वडा स्तरको निर्माण समिति गठन गरेर काम संचालन गराइएको उनको भनाइ छ । यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम संचालन भइरहेको उनले बताएका छन् ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले भने चेक ड्याम निर्माणका लागि बजेट अपुग भएको बताएका छन् । ‘त्यस क्षेत्रको पहिरोले गोरखा बजार नै धरापमा परेको छ’, उनले भने, ‘हाल चेक ड्यामसँगै पर्खाल निर्माणको काम पनि संचालन भइरहेको छ । ठूलो योजना भएकाले यस्ता आयोजना संचालन गर्न नगरपालिकाले सक्दैन, नेपाल सरकारबाट आएको पैसाले पुग्दैन् ।’ नगरपालिकाले आगामि वर्षहरुमा पनि बजेट माग गरी त्यस क्षेत्रको काम संचालन गराउने मेयर रानाको योजना छ ।




