| मङ्लबार, कार्तिक २४, २०८३

घरधनी कुर्दै लाप्राकको एकीकृत नमुना बस्ती, सुन्दर बस्तीको भित्रि व्यथा अर्कै

विकास मरहट्टा ।
लाप्राक एकीकृत नमुना वस्ती स्थानीयलाई हस्तान्तरण भएको चार बर्ष वितिसक्यो । गोलाप्रथाबाट घर छनोट गरेका उनीहरुलाई २०७८ साल बैशाख ९ गते लालपुर्जा वितरण गरिएको थियो । तर पुरानो थातथलो छाड्न नमानेपछि नमुना वस्तीका अधिकांश घर रित्तै छन् ।
वस्तीका ६ सय ३ घरधुरीमध्ये एकाध वाहेक मानिस देखिदैनन् । अधिकांश घरमा ताला लगाइएको छ । आँगन र पिँढी घाँसले ढाकिसक्यो । केहीका झ्याल ढोका फुटेका छन् । करिव ७० करोड खर्चेर निर्माण गरिएको यो सुन्दर वस्तीले लाप्राकीहरुको मन जित्न भने सकेन ।
नयाँ वस्तीले जिविकोपार्जनलाई जोड्न नसकेको स्थानीयको गुनासो छ । पुरानो गाउँ छाडेर आएकी खासमाया गुरुङ नयाँ वस्तीमा त्यति खुशी छैनन् । खेतिपाती गर्ने ठाउँको उनलाई चिन्ता छ । ‘खेति किसानी नगरी खान लाउन पुग्दैन,’ उनले भनिन्, ‘यहाँ घरमात्र हो, खेति गर्ने जमिन छैन, खेतिका लागि तलै गाउँ जानुपर्छ ।’ नयाँ वस्तीबाट पुरानो गाउँ जान करिव ४५ मिनेट लाग्ने उनले सुनाइन् ।
उनका अनुसार पुरानो गाउँको तुलनामा नयाँ वस्ती बढी हिमपात र चिसो हुने ठाउँ हो । यसअघि चरन क्षेत्रको रुपमा प्रयोग हुने गुप्सीपाखामा गैरआवासिय नेपाली संंघ (एनआरएनए) ले लाप्राकीका लागि नमुना वस्ती बनाएको हो । वस्ती बाहिरबाट हेर्दा सुन्दर देखिएपनि यसको भित्री व्यथा भने अर्कै रहेको उनले बताइन् । ‘एक त घर पनि साँघुरो छ, भनेजस्तो छैन, चार जना परिवार बल्लतल्ल अटाउँछ । त्यहाँभन्दा धेरै भयो भने ठाउँ पुग्दैन,’ उनले भनिन् । झ्याल ढोका कच्चि र खानेपानी अभाव हुने गरेको उनको अनुभव छ । उनका अनुसार पुस र माघ महिनामा वस्तीमा पानी आउँदैन । आधा घण्टाको पैदल धाएर जंगल धाउनुपर्छ ।
पुरानो गाउँ पहिरोको जोखिममा रहेकाले मात्र नयाँ वस्तीमा सरेको उनी बताउँछिन् । भन्छिन्, ‘सबै कुरा तलै गाउँमा छ तर पहिरोको डरले मात्र यहाँ आएर बस्नुपरेको हो । यहाँ छिमेकी कोही छैनन्, बोलि मिसाउने मान्छे पाइदैन, सुनसान छ । सबै बसे त रमाइलै हुन्थ्यो होला !’ नयाँ वस्तीको बसाइ सहज नभएको उनले सुनाइन् ।
खेतिपातीकै लागि स्थानीयले पुरानो गाउँ छाड्न नमानेको मार्सिङ गुरुङ बताउँछन् । ‘खेति गर्ने ठाउँ तलै छ, फेरी खेती नगरी खान नि पुग्दैन, माथि तल गर्न गाह्रो हुने भएकाले धेरैजसो तल गाउँमै बस्न थाले,’ उनले भने । उनका अनुसार नयाँ वस्तीका अधिकांश घर अहिले खाद्यान्न भण्डारण गर्ने गोदाम बनेको छ । बिशेष गरी आलु थन्क्याउने गोदाम बनेको छ ।
२०७२ सालको भूकम्प लगतै लाप्राकीहरु गुप्सीपाखा (हाल नयाँ वस्ती रहेको ठाँउ) मा पाल र टेन्ट टाँगेर बसे । नयाँ वस्ती निर्माणका लागि ठाउँ खालि गर्न उनीहरु पुरानै गाउँमा फर्किए र क्षति पुगेको घर मर्मत गरेर बसे । २०७३ मंसिर ८ बाट वस्ती निर्माणको काम सुरु भयो । सो अवधिभर पुरानै गाउँमा लाप्राकीहरु फर्किए र घरको संरचनाहरु थप्न थाले । यता करोडौको लागतमा नयाँ वस्ती निर्माण भयो तर लाप्राकीहरु पुरानो गाउँ छाड्न मानेनन् ।
करिव ५० घरधुरी भने अहिले नयाँ वस्तीमा सरेका छन् । केहीले होटल तथा रेष्टुरेष्ट चलाएका छन् । ११ घरधुरी समेटेर होमस्टे पनि संचालन गरिएको छ । तर उनीहरुको पनि छुट्टै समस्या छ । वस्तीमा हालसम्म केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छैन । पोलमा तार टाँगेको तीन बर्ष पुग्दा पनि बिद्युत प्रवाह नभएको यामकुमारी गुरुङ गुनासो गर्छिन् । गुम्दा र बारपाकमा केन्द्रीय प्रशारणको लाइनबाट बिजुली बलिसक्दा पनि लाप्राकमा भने लापरवाही गरेको उनले बताइन् ।
नयाँ वस्तीमा अहिले लघुजलबिद्युतबाट बिजुल बालिएको छ । तर साँझपख पावर पुग्दैन । नमूना वस्ती सामुदायिक होमस्टेकी कोषाध्यक्ष समेत रहेकी ज्योति गुरुङ भन्छिन्, ‘साँझ परेपछि पावर पुग्दैन, बत्ति पनि धिपधिप गर्छ । वाइफाइ पनि चल्न समस्या हुन्छ ।’ बिहान दुई घण्टा र दिउँसो एक घण्टा लाइन नहुने जानकारी गराउँदै उनले थपिन्, ‘लजविद्युत बिग्रियो भने एक हप्तासम्म लाइन आउँदैन ।’ जनप्रतिनिधीले आवश्यक पहल नगर्दा केन्द्रीय प्रशारणको लाइन आउन ढिला भएको उनीहरुको बुझाइ छ । बिद्युत कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै उनीहरुले आक्रोश पोखे ।
२०५६ साल देखि नै पहिरोको जोखिममा रहेको लाप्राकको पुरानो गाउँमा ६ सयभन्दा बढी घर भूकम्पले क्षति पुग्यो । गुप्सीपाखाको करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा एनआरएनएले लाप्राकीका लागि नमुना वस्ती निर्माण गरिदियो । वस्ती निर्माणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय र एनआएनए बिच २०७३ बैशाख १२ गते त्रिपक्षिय सम्झौता भएर काम अघि बढेको थियो । घर निर्माणका लागी स्थानीयले श्रमदान पनि गरे । आठ ट्याक्टर ढुंगा र ४० बोरा गिटी प्रत्येक स्थानीय आफैले जुटाए । आवश्यक काठ आफैले जोहो गरे । गोलाप्रथाबाट घर छनोट पनि गरे । तर नयाँ वस्तीले उनीहरुको मन जित्न सकेन । त्यसैले त वस्तीका अधिकांश घर खाली छन् ।

प्रतिक्रिया दिनुहोस्