
डिभिजन वन कार्यालयद्वारा वन पैदावारमा आधारित हस्तकला निर्माण तालिम संचालन
डिभिजन वन कार्यालय गोरखाको पहलमा वन पैदावारमा आधारित बाँसको हस्तकला निर्माण तालिम संचालन भएको छ । कार्यालयले ग्रिन बेम्बु क्रियशनसँगको समन्वयमा पालुङटार नगरपालिका ६ मा उक्त सात दिने तालिम संचालन गरेको हो ।
पालुङ्टार नगरपालिका अन्तरगत कबुलियत वनतर्फ ५ जना र सामुदायिक वनतर्फ १० गरी जम्मा १५ जना प्रतिनिधिहरुले तालिममा सहभागिता जनाएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उनका अनुसार तालिम गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको उपस्थितिमा शुक्रबार समापन भएको थियो ।
कार्यालयले आफ्नो वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत बाँसबाट विभिन्न हस्तकला सामाग्री निर्माण सम्बन्धी तालिम संचालन गरेको डिएफओ शाण्डिल्यको भनाइ छ । उनी भन्छन्, ‘बाँस हाम्रो गाउँघरमा सजिलै उपलब्ध हुन्छ, सस्तो पनि छ । यसलाई प्रयोग गर्न पनि सजिलो छ त्यसैले बाँस नै छनोट गरेर तालिम संचालन गरेका हौँ ।’

तालिममा सहभागीहरुलाई ग्रीन बेम्बु क्रियशनबाट आएका प्रशिक्षकले बाँसबाट निर्माण हुने नाङ्लो लगायत विभिन्न सजावटका सामाग्रीहरु बुन्न सिकाएको उनले जानकारी दिए । तालिमपछि सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको उनले बताएका छन् ।
सामुदायिक वनमा आवद्ध महिलाहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यसहित तालिम संचालन गरिएको शाण्डिल्यले जनाए । ‘कार्यक्रम निकै प्रभावकारी रह्यो । सहभागीहरुले अझैँ बढी तालिमको माग राखेका थिए तर बजेटको अभावका कारण जम्मा ७ दिन मात्र संचालन गर्नु प¥यो’, उनले भने, ‘पालिकाहरुले समन्वय गरेर यसलाई निरन्तरता दिन सक्यो भने राम्रो हुने थियो ।’




