
बारपाकीले बिर्सन नसकेका भूकम्प
प्रतिक्षा आले ।
गोरखा बारपाकी ६२ वर्षीय धनमाया गुरुङलाई १० वर्ष यता बैशाख १२ कहिले पनि नआओस जस्तो लाग्छ । किनभने बारपाकलाई केन्दविन्दु बनाएर २०७२ बैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो ७ वर्षीया भदैनी गुमाएको कुराले सधैं पिरोल्छ ।
गहभरि आशु पारेर धनमाया गुरुङ भन्छिन, ‘न्यास्रो लागेर माइतीबाट शनिबारको दिन भएकोले भदैनी घर ल्याएको थियो । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलिरहेकी भदैनी घर भत्किएर पापी भूकम्पले लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफै हो जस्तो लाग्छ ।’ धनमाया जस्तै भूकम्पमा आफन्त गुमाउने बारपाकबासीको पीडा उस्तै छ ।
३४ वर्षीय डोलमाया घलेले पनि अहिलेसम्म २०७२ को भूकम्पलाई बिर्सन सकेकी छैनन् । ‘आकाश गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठुल्ठुलो गाडी आउँदा पनि भूकम्प नै आए जस्तो लाग्छ । मुटु नै चिसो हुन्छ’, उनी भन्छिन् । २०७२ को भूकम्पले गोरखा लगायत आसपासका जिल्लाहरुमा ठुलो धनजनको क्षति पु¥याएको थियो ।
भूकम्पले बारपाकीहरुको मानसिकतामा ठुलो धक्का पुगेको छ । ७७ वर्षिय प्याली घलेलाई फेरी पनि भूकम्पले आइहाल्छ कि भन्ने पिरले सधैँ जसो सताउँछ । ‘बाँच्छु होला जस्तै लागेको थिएन । तर, १० वर्ष बितिसकेछ । अझैँ पनि दिन अँध्यारो हुदाँ फेरी भूकम्प आइहाल्छ कि झैँ लाग्छ’, घलेले भनिन् ।
अर्की स्थानीय ५५ वर्षिय कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भन्छिन्, ‘हामी त काम गर्दै थियौँ । एक्कासी जमिन हल्लियो, एकाएक घरहरु भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।’ भूकम्पका कारण आफूहरुको मानसिकतामा ठूलो चोट पुगेको गुरुङले बताएकी छिन् । ‘अहिले त नयाँ घरपनि बनाइसके’, उनले भनिन्, ‘तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।’
विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास पनि भएको छ । भूकम्पले बारपाकको स्वरुप नै परिवर्तन गरेको अर्का स्थानीय जित बहादुर घले बताउँछन् । ‘भूकम्पले विनाश त ग¥यो तर धेरै सकरात्मक परिवर्तन पनि ल्याएको छ’, उनले भने, ‘बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर प¥यो । हामीले विकासे योजना माग्ने आधार पनि पायौँ ।’ भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, विजुली लगायत पूर्वधारहरु तिव्र रुपमा विकास भएको घले बताउँछन् ।
२०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो । त्यस्तै झण्डै एकहजार निजी घरहरु क्षतिग्रस्त थिए । भूकम्प गएको १० वर्ष पूरा भएको छ ।
एकदशकको अवधिमा बारपाकमा निजी आवास पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको स्मरणमा भूकम्प गएको मिति र समय समेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ । तर विगतमा परम्परागत ढुंगाको छानो र माटोले बनेको घर रहेको बारपाक पुननिर्माणका क्रममा इट्टा र सिमेन्ट बाट आधुनिक पक्की घरहरु बनेको छन ।




