
‘हावाहुरीले घर ढलाइदिन्छ कि ?’
शिव उप्रेती ।
गण्डकी गाउँपालिका ६ वनटारको सिरानमा एउटा झुप्रो छ, जसमा ओत लागिरहेका छन्, सन्तबहादुर र मंगली चेपाङ । आफूहरु कति बर्ष भयौँ भन्ने न सन्तलाई थाहा छ, न मंगलीलाई । वृद्धभत्ता बुझ्न थालेको धेरै बर्ष भइसक्यो भन्नेमात्र थाहा छ । ‘खै बा आमाले यति बर्ष भयौ भनेर पनि भनेनन्’, मंगली चेपाङले भनिन्, ‘भत्ता खान थालेको त धेरै नै भइसक्यो ।’
घरको चारै दिवार काठका फलेकले बारेका छन् । धेरै बर्षअघि बारेका फलेक घामपानीले खाएर जीर्ण भइसकेका छन् । ‘बारेको भन्यामात्तै हो, न पानी छेक्छ, न हावा’, सन्तबहादुर भन्छन्, ‘ठामठाममा टिनको पाता ठोकेको छु तर, छानाबाट पनि बलिद्र धारा चुहिन्छ, छेउछाउबाट पनि पस्छ ।’ हावाहुरी चलेका बेला ढल्ने डर लाग्ने मंगली बताउँछिन् ।
‘छोरालाई टेका लाइदे भनेको मानेन’, उनी भन्छिन्, ‘हावाहुरीले लडाउँछ कि भन्ने डर लाग्छ । पोहोर त जसोतसो धानेथ्यो । यसपाल त लरक्कै पार्छ कि भन्ने डर छ ।’ चारबीसे हिउँद कटेजस्ता देखिने यी दम्पत्ति बारी, पाखा पखेरामा काम गरेर खान सक्दैनन् । बुढेसकालको एउटै साहरा वृद्धभत्ता बनेको छ । ‘भत्ता आउँछ । बेसा खान्छ’, सन्त भन्छन्, ‘छोराहरु छन् । गाउँभन्दा तल घर बनाएर बसेका छन् ।’
अरुभन्दा यी दम्पत्तिलाई खानेपानीको पिरोलो छ । ‘ई हेर्नु न थोपा थोपा आउँछ’, रुखका हाँगा हाँगामा टाँगेर ल्याएको पाइपबाट सय लिटर जाने ड्रममा पानी झरेको देखाउँदै उनले भने, ‘धारामा बोक्न जाम भने सकिँदैन । यही थोपा, थोपा संगालेर खान्छम् ।’ मान्छेले धेरै पाप गरेर अचेल पानीको दुख भएको मंगली बताउँछिन्, ‘अचेल मान्छे धेरै पापी भए । उहिले त ट्याम ट्याममा आउँथ्यो । अहिले त देउता रिसाए । पानी पर्न छोड्यो ।’




