| मङ्लबार, कार्तिक २४, २०८३

मिनाको मिहिनेत मोह, भन्छिन् ‘तरकारीले आत्मनिर्भर बनायो’

गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ बर्षीया मिना कोइराला तरकारी खेतीमा व्यस्त छिन् । कोइरालाटोलको ७ रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेकी हुन् ।

प्राय सधैँ बारीमै भेटिने मिना आफूले मौसमी तरकारीहरुसँगै प्याजको विरुवा बेचेर वार्षिक लाखौँ रुपैँया आम्दानी गर्ने गरेको बताउँछिन् । ‘११ वर्ष अघि पाखो बारी भाडामा लिएर तरकारी खेती सुरु गरेको हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, बन्दगोभी बारी गोडमेल गर्दै गरेकी मिनाले भनिन् ‘म त यस्तै हो । केही नगरी बस्नै सक्दिनँ । हुन त बुढा विदेशमा छन् । पैसाको हर्जो त छैन् तर आफ्नो कमाई जस्तो अरुको हुँदैन ।’ तरकारी खेतीलाई पानीको अभाव र बाँदरले सताए पनि जसोतसो आफ्नो कर्म भने नछोडेको उनी बताउँछिन् ।

मिनाको श्रीमान दुबाईमा बैदेशिक रोजगारी गर्छन् । जेठीछोरी पनि दुबाईमै नर्सिङ पेशामा छिन् । ‘कान्छी छोरी काठमाडौँ डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा नौ मा पुग्यो’, उनले भनिन्, ‘मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ । जे होस अहिलेसम्म अरुसँग हात फैलाउनु परेको छैन् ।’

उनको तरकारी बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । ‘बन्दापछि काँक्रो, करेला लगायत अन्य मौसमी तरकारीहरुको सिजन सुरु हुन्छ । त्यसपछि प्याजको बिउ तयार गर्छु’, उनी भन्छिन्, ‘विषादी प्रयोग गर्दिनँ । जति हुन्छ, हुन्छ जस्तो लाग्छ ।’ मिना लगायत बतासे क्षेत्रका अन्य तरकारी किसानहरुले पनि बिरलै विषदीको प्रयोग गर्छन् ।

‘मैले तरकारी खेती सुरु गर्दा हाम्रो टोलमा तरकारी लगाउने चलनै थिएन । मेरो हेरेर धेरैले सिको गरे’, कोइराला भन्छिन्, ‘केही पुरुषहरु अलि पर व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेका छन् । तर ठूलो क्षेत्रमा तरकारी लगाउने महिलाचाँहि म मात्र हुँ ।’ उनी आफुले जस्तै अन्य महिलाहरुले पनि केही न केही पेशा वा व्यवसाय गरे श्रीमानको कमाइमा र्निभर हुनु नपर्ने बताउँछिन् ।

विगत लामो समयदेखि तरकारी खेतीमा लागेको भएपनि मिनाले हालसम्म न त आफ्नो कृषि फारम दर्ता गरेकी छिन् । न त उनी कुनै कृषि समूहमा नै आवद्ध छिन् । ‘म आफूले जे जति सक्छु गर्छु । अरुले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन् । सबैले दर्ता गर्नुपर्छ भनिरहनुहुन्छ त्यसैले, अबचाँहि फर्म दर्ता गर्छु’, मिनाले भनिन् । उनले तरकारी बिक्री वितरण गर्ने मुख्य बजार गोरखा सदरमुकाम नै हो ।

बजारको पसलेहरु तरकारी लिन मिनाको बारीमै पुग्छन् । ‘पसलेहरु गाडी नै लिएर आउँछन् । सुरुमा काम गर्दा र अहिलेमा धेरै फरक छ । पहिलाको जस्तो दुख अहिले छैन् । बजारको पनि अभाव छैन्’, उनले भनिन् । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले वडाले मिना कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने बताएका छन् ।

‘उहाँ निकै मिहेनती हुन्छ । हामीले उहाँलाई वडा कार्यालयमा आएर कृषि फर्म दर्ता गर्न अनुरोध गरेका छौँ । तर अहिलेसम्म गर्नुभएको छैन । अब गर्नुहुन्छ होला’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘त्यस्ता किसानलाई प्रोत्साहन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्