| मङ्लबार, जेष्ठ ७, २०८२

बैँकका कर्मचारीहरु नै अनलाइन स्क्यामको शिकार, गतबर्षभन्दा स्क्याम दोब्बर वृद्धि

प्रतीक्षा आले ।
गत साउन महिनायता गोरखामा २२ वटा अनलाइन स्क्यामको घटना दर्ता भएका छन् । अचम्मको कुरा त के छ भने, अनलाइन स्क्याममा प्राय बैँकका कर्मचारीहरु नै पर्ने गरेका छन् । विभिन्न किसिमबाट वैंकिङ ठगी हुन नदिन वैंकिङ शिक्षा दिनुपर्ने कर्मचारी नै वैंकिङ स्क्याममा परेका हुन् ।

साउनयताको यो नौ महिना अवधिमा गोरखामा ४७ लाख बराबरको रकम ठगी भएको प्रहरीले जनाएको छ । ‘जसमध्य ११ लाख २६ हजार रुपैँया फिर्ता भईसकेको छ’, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक एसपी बासुदेव पाठकले भने, ‘आश्चर्यको कुरा त के छ भने प्राय पढेलेखेका बैँकमा कर्मचारीहरु नै अनलाइन स्क्यामको शिकारमा परेका छन् ।’

साथै, बैदेशिक रोजगारीमा गएका, शैक्षिक पेशामा आवद्ध भएकाहरु, घर गृहणी र विद्यार्थीहरु स्क्यामको शिकार बनेको उनले जानकारी दिए । प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा अनलाइन स्क्याम सम्बन्धी १६ वटा मुद्धा दर्ता भएको थिए । गत आव करिब १३ लाख रुपैँया ठगी भएको प्रहरीको विवरणमा उल्लेख छ । जसमध्य चार लाख २४ हजार रुपैँया फिर्ता भईसकेको बताइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष अनलाइन ठगी दोब्बरले बढेको छ । आव २०८०/८१ यता जिल्लामा अनलाइन स्क्याममार्फत ६० लाख भन्दा बढी रकम ठगी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमध्य १५ लाख ५० हजार रुपैँया फिर्ता भईसकेको छ । ‘यस्ता घटनाहरु त धेरै छन् । यो विवरण त हाम्रो कार्यालयमा उजुरी दिन आएका घटनाहरुको मात्र हो’, एसपी पाठकले भने ।

प्रहरीका अनुसार सर्वसाधरणहरु अनलाइन किनमेल, फिसिङ (नक्कली इमेल वा सन्देश पठाएर व्यक्तिको इमेल वा सामाजिक सञ्जाल लगइन विवरण चोरी गर्ने वा चोर्ने प्रयास), लट्री वा पुरस्कार ठगी, रोमान्स ठगी, निवेश/लगानी ठगीको शिकार बन्ने गरेका छन् ।

अनलाइन ठगीबाट बच्न आफ्नो ओटीपि कोड र बैँक खाता सम्बन्धी जानकारी कसैलाई नदिन, अनलाइन किनमेल गर्दा आधिकारिक बिक्रेताबाट मात्र किनमेल गर्न, नचिनेको फाइल वा लिंक नखोल्न, ‘सस्तोमा महङ्गो’, ‘छोटो समयमा धेरैै फाइदा’ भन्ने जस्ता कुरामा विश्वास नगर्न, सामाजिक सञ्जालमा नचिना व्यक्तिको फ्रन्ड रिक्वेइस्ट स्वीकार नगर्न, अनलाइन सम्बन्धमा अत्याधिक विश्वास नगर्न, व्यक्तिगत फोटो, भिडियो वा नीजि कुराकारी अनजानका व्यक्तिसँग सेयर नगर्न र शंका लागेमा तुरुन्त प्रहरी वा साइबर अपराध महाशाखामा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय गोरखो अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्