
सिरानचोक ५ का वडाअध्यक्ष खै ?
सिरानचोक गाउँपालिका वडा नं. ५ बिगत १० महिनादेखि वडाअध्यक्षविहिन भएको छ । वडाअध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएदेखि अहिलेसम्म अनुपस्थित रहेको स्थानीय विष्णु पोखरेलले जानकारी दिए ।
‘गत असारमा वडा सदस्य रामचन्द्र पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिएर अमेरिका जानु भएको रहेछ’, उनले भने, ‘गत माघमा आएर फेरि आउँदो असारसम्मका लागि उहाँलाई नै कार्यबाहक दिएर जानु भएको रहेछ । असारपछि पनि के हो, के हो । यसरी निमित्त दिएर यत्तिका लामो समय हराउन पाइँदैन ।’ वडाअध्यक्ष लामो समयदेखि अनुपस्थित हुँदा धेरै समस्या भोग्नु परेको भन्दै वडाबासीले गाउँपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् ।
सर्बपक्षीय टोलीले गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङसमक्ष ज्ञापनपत्र पेश गरेको उनले बताए । ‘कार्यबाहक वडाअध्यक्ष कार्यपालिका सदस्य हुँदैन त्यसैले, कार्यपालिका बैठकमा वडाका एजेण्डा लैजाने प्रतिनिधि पनि भएन । कार्यपालिका बैठकमा भएका निर्णयहरुबाट पनि बिमुख भइयो’, उनले भने, ‘वडाअध्यक्षले जनमतको अपमान गरेर हराउनु भयो । त्यसैले यत्तिका लामो समय अनुपश्थित हुँदा वडाअध्यक्षको पद के हुन्छ ? हामीले त पद खालि गराउन माग गरेका छौँ ।’
वडाअध्यक्ष पोखरेल बिनाजानकारी लामो समयदेखि सम्पर्कबिहिन भएको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए । ‘ज्येष्ठ वडासदस्य रामचन्द्र पोखरेललाई कार्यबाहक दिनुभएको रहेछ, तर गाउँपालिकालाई कुनै जानकारी छैन’, गुरुङले भने, ‘मैले नै धेरै पटक सम्पर्क गरेर सोधपुछ गर्ने प्रयास गरेँ, तर सम्पर्क हुन सकेको छैन ।’ वडाअध्यक्ष पोखरेल लामो समयदेखि अनुपस्थित रहेको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालमा विभिन्न क्रिया, प्रतिक्रियाहरु लेखेका छन् ।




