
चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ बिमोचन
कांग्रेस गोरखाका संस्थापक नेता चन्द्रप्रसाद न्यौपानेको जीवनवृत्तमा लेखिएको ‘चन्द्रप्रसाद न्यौपाने स्मृतिग्रन्थ’ बिमोचन गरिएको छ । स्वर्गीय न्यौपानेको पहिलो वार्षिक पुण्यतिथिमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सो स्मृति ग्रन्थको बिमोचन गरिएको हो ।
स्मृति विमोचन गर्दै सभापति देउवाले गोरखा छोप्राकका न्यौपाने कांग्रेसका निष्ठावान, संघर्षशील र लोकतन्त्रका इमान्दार अनुयायी रहेको बताएका थिए । सभापति देउवाले न्यौपानेका दाजु कृष्णप्रसादलाई आफूले जेलमा भेट गरेको र उनी नझुक्ने, जुझारू व्यक्तित्वका रूपमा आफूले पाएको बताए । ‘स्वर्गीय चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रका होनाहार अनुयायीको रुपमा चिनेको छु’, उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँहरुको धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भइ भूमिका खेल्नुभयो ।’
न्यौपाने कांग्रेसबाट तत्कालीन जिल्ला विकास समिति गोरखाको सभापतिसमेत थिए।
ग्रन्थ लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस नेता मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, कमला पन्त, किरणबाबु श्रेष्ठ, अब्दुल सतारलगायतले धारणा राखेका थिए ।




