| मङ्लबार, जेष्ठ ७, २०८२

होटल गोरखा गार्डेनको स्वामित्व गोरखाली युवाको हातमा

गोरखा सदरमुकामस्थित प्रतिष्ठित होटल गोरखा गार्डेनको स्वामित्व गोरखाली युवाले लिएका छन् । चितवन र गोरखाका व्यवसायीको साझा स्वामित्वमा सञ्चालित सो होटल नयाँ बर्षको दिनदेखि गोरखाका युवा व्यवसायी सुरेन्द्र कुँबरले लिएका हुन् ।

चितवनको भरतपुर गार्डेन होटलका सञ्चालकको ६० प्रतिशत र गोरखाली व्यवसायीको ४० प्रतिशत लगानीमा सञ्चालित सो होटल नयाँ बर्षको पहिलो दिनदेखि एकल स्वामित्व रहने गरी आफूले लिएको कुँबरले जानकारी दिए । नववर्षको पहिलो दिन सोमबार परम्पराअनुसार पूजाआजा गरी होटलमा प्रवेश गरेको उनले बताए ।

यसअघि गत चैतको २२ गते कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वामित्व परिवर्तन गरी दर्ता प्रमाणपत्र लिएको चैत ३१ गते मालपोतबाट स्वामित्व परिवर्तन भएको लालपूर्जा लिएको कुँबरले बताए । यसैबीच होटल गोरखा गार्डेन प्रालिले प्रभु बैंकका ग्राहकलाई सेवामा छुट दिने भएको छ । यस विषयमा मंगलबार प्रभु बैंक होटल सञ्चालक बीच सम्झौता भएको छ ।

बैकका गण्डकी प्रदेशका कार्यालयका प्रमुख राजु राना र होटल सञ्चालक सुरेन्द्र कुँबर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, प्रभु वैंकका ग्राहकहरूले होटलको सेवा लिँदा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट प्रभु बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता डिजिटल भुक्तानी गर्दा लागु हुनेछ । ग्राहकहरूले होटलको आवास, खानपिन, पेय पदार्थ तथा अन्य सेवाहरूमा यो छुटको फाइदा लिन सक्ने प्रदेश प्रमुख रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्