| मङ्लबार, कार्तिक २४, २०८३

शहिद लखन–८ पूर्ण खोप वडा घोषणा

शहिद लखन गाउँपालिका वडा नम्वर ८ जिल्लाको पहिलो पूर्ण खोप वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप वडा घोषणा गरिएको हो ।

‘हामीले घरधुरी सर्वेक्षण गर्दा वडामा १६ महिना मुनिका १७ जना बालबालिका र १६ देखि २३ महिनासम्मका १५ जना बालबालिका रहेछन्,’ बुंकोट आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कृष्णप्रसाद भट्टराईले भने, ‘उनीहरुले पाउनुपर्ने खोप सबै लगाएको पाएपछि वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।’ सोमवार पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रम मार्फत वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

वडाध्यक्ष बासुदेव ढकालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रमेश थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानी, गाउँपालिका स्वास्थ्य शाखाकी मनिला श्रेष्ठ, कांग्रेस वडा सभापति इन्द्रराज ढकाल, रामेश्वरी माविका प्रधानाध्यापक जीवन अम्गाई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय महिला समूह र भजन समूहले आफ्नो प्रस्तुती समेत देखाएका थिए । औपचारिक कार्यक्रमअघि प्ले कार्डसहितको प्रभातफेरी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्