
खोलखोले क्षेत्र दोहनको नालीबेली : व्यक्ति र स्थानीय तहले पालैपालो दोहन गर्दै
मेलिना बराम :
गोरखा नगरपालिका ८ खोलखोलेको सार्वजनिक क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । कुनै बेला स्थानीयको गौचरन रहेको यहाँ कहिले व्यक्तिले घर बनाउने नाउँमा, कहिले पानी निकाल्ने निहुँमा अतिक्रमण गरे । बेरोकतोक भिर खारे, ढुंगा निकाले बेचे ।
व्यक्तिले मात्र दोहन गरेनन्, पछिल्लो समय नगरपालिका कार्यालयले पनि बसपार्क बनाउने नाउँमा दोहन गरिरहेको छ । कानून कार्यान्वयन गर्ने निकाय आफैले बिना विधि र प्रक्रिया यहाँ ढुंगा उत्खनन गरेको छ ।
उत्खनन गर्नुअघि न व्यक्तिले नियम कानून पालना ग¥यो, न नगरपालिकाले । कोभन्दा को कमको शैलीमा खोलखोलेको निजी र सार्वजनिक जग्गा दोहनको मारमा छ । यहाँको माटो बगाएर सिर्दीखोला किनारका किसानको खेत, बारीमा क्षति पु¥याएको छ । लाभ एउटालाई, त्यसको मार अर्कोले खेपिरहनु परेको छ ।
निजी जग्गामा ढुंगा खानी सञ्चालन गर्न पनि राज्यले बनाएको विधि र प्रक्रिया पूरा गर्नुपर्छ । स्थानीय तहसंग अनुमति लिएर आईई गर्नुपर्छ, प्रतिवेदनमा उल्लेख भएको परिमाण, निर्धारित समय सीमाभित्र मात्र उत्खनन् गर्नुपर्छ, कर तिर्नुपर्छ । स्थानीय तहले उत्खनन गर्नका लागि पनि आईई गर्नुपर्छ आदि । तर यहाँ बिगत तीनबर्षदेखि बिना विधि र प्रक्रिया निर्बाध ढुंगा निकालेर बेच्ने काम भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधिदेखि स्थानीय प्रशासन, प्रहरी दिनहूँ हिड्ने बाटोमा निर्वाध ठूलो परिमाणमा ढुंगा उत्खनन गरेर बेचबिखन भइरह्यो । नियमक निकाय मुकदर्शक भइरहे । यसअघिको नगरपालिका कार्यालयले बिना अनुमति, बिना विधि र प्रक्रिया ढुंगा खानी उत्खनन् गर्नेलाई कानूनी दायरामा ल्याउनुको साँटो ढुंगाको राजस्व लिएर वैधता दिने प्रयास ग¥यो ।
स्थानीय सिताराम खत्रीका अनुसार आँबुखैरेनी गोरखा सडक निर्माण भएपछि सो सार्वजनिक क्षेत्र गोरखा बजारका एक जनाले आफ्नो नाममा बनाए । ‘बाजेहरुले भन्नुहुन्थ्यो, यो गाई चराउने, दौ खुवाउने गौचर हो,’ उनी भन्छन् ‘रोड आएपछि बजारको जान्नेसुन्ने एक जनाले त्यो जग्गा आफ्नो नाममा बनायो रे भन्ने सुनियो ।’
पुस्तान्तरण, हस्तान्तरण, खरिद, बिक्री हुँदै अहिले सो जग्गा कुलबहादुर थापाको स्वामित्वमा पुगेको छ । उनले घर बनाउने नाउँमा सो लालपूर्जा भएको र नभएको जग्गाको ढुंगा उत्खनन गरी बेचेका छन् ।
अर्का स्थानीय कृष्ण खत्री भन्छन्, ‘तीन वर्ष भइसक्यो यहाँ ढुङ्गा उत्खनन् गर्न थालेको । उत्खनन् गर्दा गर्दा पछाडि ठुलो पहरा नै बनेको छ । अहिले चाहिँ करिब एक महिना भयो यो उत्खन्न रोकिएको छ ।’ बजारभित्रै, सबैको नजर पुग्ने ठाउँमा यति दोहन हुँदा पनि सबै चुपचाप बसेको देखेर स्थानीयबासी जिल्ल परेको उनको भनाइ छ ।
तर यहाँ लालीगुराँस मोटर वर्कसप सञ्चालन गर्दै आएका जग्गाधनी कुलबहादुर थापाले पनि ढुङ्गा निकालेर बेचेको स्वीकार गरेका छन् । ‘मैले ४ वर्षअघि जग्गा किन्दा ढुङ्गा निकाल्छु भनेर किनेको होइन, घर बनाउका लागि जग्गा खार्ने क्रममा ढुङ्गा निस्किएको हो,’ उनले भने, ‘ढुङ्गा निस्किएपछि अलिअलि बिक्री गर्नुप¥यो भन्ने लाग्यो । नगरपालिकाबाट मौखिक रुपमा बिक्री गर्न अनुमति पाएपछि मैले सात वटा गाडीमा विभिन्न ठाउँमा ढुङ्गा पठाएको हो ।’ ढुङ्गा बिक्री गरे बापत उनले यसअघि नगरपालिकालाई दुई पटकसम्म कर तिरेको बताए । अहिले आफूलाई रोक लगाए पनि नगरपालिकाले भने ढुङ्गा निकालेर लगिरहेको थापाको आरोप छ । ‘मलाई चाहिँ नपाउने भनेर रोक लगाएको छ, फेरि उहाँहरुलेचाहिँ मज्जाले निकाली राख्नु भएको छ’, उनले भने ।
सो क्षेत्रकोे आईईई नगरेकाले उत्खनन् बन्द गरिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुब घिमिरेले बताए । ‘त्यहाँको आईईई गरिएको छैन, त्यसैले नगरपालिकाले उत्खनन् गर्न रोकेको हो,’ उनले भने ।




