
आठ महिना नबित्दै सकियो बजेट, सडक बनाउन गएको सेना फर्कियो
पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको सीमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यसबर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाती राखेर सेना अर्मला र सल्लेरीस्थित शिविरमा फर्किएको हो ।
धार्चेको हावाडाँडाबाट खन्दै गएको सडकको ट्रयाक ४२ किलोमिटर पर चुमनुब्री ३ पेवासम्म पुगेको थियो । तर यसबर्षका लागि बिनियोजित बजेट सकिएपछि काम थाती राखेर फर्किएको नेपाली सेनाले जनाएको छ । ‘यसबर्षका लागि बिनियोजित बजेट सकिएछ । त्यसैले अहिलेका लागि सडक निर्माण कार्य अघि बढ्न सकेन’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केशीले भने, ‘प्राविधिक कर्मचारी, सेना र ज्यालादारी काम गर्ने मजदुर पनि फर्किएका छन् ।’ कसैगरी बजेट थप भई आएमा तत्काल काम सुचारु गर्न सेना तत्पर रहेको उनको भनाइ छ ।
सेनाले निर्माण गरिरहेको उत्तर दक्षिण जोड्ने सो सडकखण्डका लागि बिगतका तुलनामा यसबर्ष सबैभन्दा कम बजेट विनियोजन भएको हो । चारबर्षअघि २५ करोड, त्यसपछि १५ करोड विनियोजन भएको सो सडकखण्डका लागि गतबर्ष १० करोड र यसबर्ष जम्मा सात करोड विनियोजन भएको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।
कार्यस्थलबाट सेना फर्किएपछि न्याकफेदी पेवाखण्डको काम अलपत्र भएको छ । बिस्फोट गराएको भीर पहरोलाई सडकको स्वरुप दिन बाँकी नै छ । थप अघि बढाउन कार्यस्थलमा पु¥याइएका उपकरणहरु पनि थन्किएका छन् । रुकुम, जाजारकोटदेखि काम गर्न आएकाहरु पनि घर फर्केका छन् ।
२०७४ साल वैशाखदेखि काम सुरु गरेको नेपाली सेनाले हालसम्म ४२ किलोमिटर ट्रयाक खोलेको छ । ३६ किलोमिटरसम्म मोटर चल्न सुरु गरेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । ‘हालसम्म ४२ किलोमिटरसम्म ट्रयाक खुलेको छ । जसमध्य ३६ किलोमिटर(पाङसिङ)सम्म मोटर चल्न थालेको छ । ट्रयाक खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन सकिएको छैन’, सडक निर्माण कार्यदलका प्रमुख मेजर पूर्णचन्द्र ढकालले भने, ‘हामीले दायित्व पूरा गरेको दोभानसम्मको १८ किलोमिटर गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेका छौँ ।’
बेनीघाट, आरुघाट, लार्के सडकको १५४ किलोमिटरमध्य हावाडाँडाबाट माथि ९२ किलोमिटर सडकको काम गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । सो खण्डमा ठूला पहरा र कडा चट्टान भएकाले बिस्फोटनको काम गर्न सेनामार्फत सजिलो हुने हुँदा सेनालाई दिइएको हो ।
कुल १५४ किलोमिटर खण्डमध्य बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा बेनिघाटदेखि ९७ किमी खण्डमा सवारीसाधन चल्न थालिसकेको छ । बर्खाका बेला पनि सवारी साधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलिब्रिज समेत निर्माण गरेको मेजर ढकालले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड रुपैयाँ विनियोजन भएको छ । बिनियोजित बजेट अन्तरगत गर्नुपर्ने काम सकिएको कार्यदलका प्रमुख ढकालले बताए । ‘दुई किलोमिटर ट्रयाक खन्ने काम सम्पन्न भएको छ’, उनले भने, ‘यो वर्ष ट्रयाक खन्न सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने कामहरु लगभग गरिसक्यौँ ।’ यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उनको भनाइ छ ।
बेनिघाटदेखि आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक बर्ष २०६३÷६४ मा बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामाकरण गरिएको थियो । आर्थिक बर्ष २०६६÷६७ मा मात्र उक्त सडक निर्माणको कार्य सुरु भएको थियो । तर हावाडाँडादेखि माथिको क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न नसकेपछि सेनालाई जिम्मा दिइएको हो ।
उत्तरी गोरखाको लाइफलाइन मनिने उक्त सडक बनेपछि दुर्गममा अवस्थित धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।




