
आँबुखैरेनीका विद्यार्थीलाई पालिकाको अस्पतालमा निशुल्क उपचार
आँबुखैरेनी गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई पालिकाको अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गत मंगलबार सम्पन्न शिक्षा शाखा र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यार्थीहरुलाई सम्पूर्ण स्वास्थ्य सेवा पालिकाको अस्पतालबाट निशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।
सो सो बैठकले संस्थागत विद्यालय(बोर्डिङ)हरुले विद्यार्थीहरुसँग वार्षिक शुल्क बापतको रकम नलिने निर्णय भएको छ । बैठकले गाउँपालिका अन्तरगतका कुनै पनि संस्थागत विद्यालयहरुले वार्षिक शुल्क बापत रकम नलिने तथा नयाँ विद्यार्थीबाहेक अन्य विद्यार्थीहरुसंग भर्ना शुल्कसमेत नलिने निर्णय भएको पालिकाले जनाएको छ ।
साथै, गाउँपालिका अन्तरगत कुनै पनि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु विद्यालय समयमा वा विद्यालय पोशाकमा उपचार गर्नु परेमा आँबुखैरेनी अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु निशुल्क रुपमा उपलब्ध हुने निर्णय भएको पालिकाको भनाइ छ ।




