| मङ्लबार, कार्तिक २४, २०८३

सरकारको भ्रष्ट प्रवृत्तिका कारण प्रतिगमनकारीहरु सलबलाउन थाले

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् । मंगलवार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले यो सरकारले भ्रष्टाचारीलाई रक्षा गर्दै भ्रष्टाचारलाई निरन्तरता दिएको आरोप लगाए ।

‘भ्रष्टाचारी र दलालहरुलाई रक्षा गर्न र दलाल बिरोधी अभियानलाई रोक्न हाम्रो सरकार ढालेर यो सरकार बनेको हो,’ उनले भने, ‘यो सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको छ, भ्रष्टाचारालाई निरन्तरता दिएको छ । त्यसैले यो सरकार भ्रष्ट सरकार हो ।’
लोकतान्त्रिक उपलब्धीको अभ्यास आम जनतालाई गर्न दिनुको सट्टा अहिलेको सरकारले निरङ्कुश प्रवृत्ति प्रस्तुत गरिरहेको पनि उनले बताए ।

प्रतिगामी शक्तिहरु सलबलाउनुमा सरकारको अहिलेको क्रियाकलाप र गतिविधि नै प्रमुख कारण रहेको उनको भनाइ छ । ‘लामो कालसम्म प्रतिगामी शक्तिहरु चुप लागेर बसेको अवस्थामा आज उनीहरुले टाउको उठाउने, सलबलाउने अवस्था किन आयो ?’ उनले भने, ‘मुख्य त सरकारको क्रियाकलापले जनतामा पैदा भएको असन्तुष्टी निराशा र आक्रोशका कारण त्यसलाई आधार बनाएर प्रतिगामीहरुले टाउको उठाइरहेका छन् ।’

आफूहरु प्रतिगमनकारी बिरुद्ध रहेको बताउँदै उनले प्रतिगमनको सपना नदेख्न चेतावनी पनि दिए । राजतन्त्र पुनर्वहाली गर्न भन्दै प्रतिगामी शक्तिहरुले गरेको आन्दोलनलाई सरकराले ठिक ढंगले ‘डिल’ गर्न नसक्दा अराजकता बढेको उनले जिकिर गरे । ‘बिस्थापित भएका शक्तिहरु मौका पाए आउन खोज्छन्, त्यो उनीहरुको प्रवृति हो । तर त्यो आधार नदिन अहिलेको सरकारले आफूहरुलाई सच्याउनुपर्छ,’ उनले भने । जनतामा छाएको निराशा र असन्तुष्टी अन्त्यका लागि अहिलेका पार्टीहरु सच्चिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्